राजनीति


काडमाडौंमा निर्माण हुने चार नयाँ सहरको डीपीआर तयार

काडमाडौंमा निर्माण हुने चार नयाँ सहरको डीपीआर तयार

नेपालखबर
जेठ ११, २०७७ आइतबार १५:५९,

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको बताएको छ। समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डीपीआर स्वीकृत गरेको छ।

बाँकी दुईवटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय)को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए। समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछी कार्यान्वयनमा जाने छ।

काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ। न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन।

चारवटा आयोजना मध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात कारेड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई/दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताए।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डीपीआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी र जेके एसोसिएट्सले गरेको छ। अन्य तीनवटा आयोजनाको डीपीआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन्। चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन्। जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ।

परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल रहेको छ। यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटो सम्म, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिण तर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ। यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि सुर्यविनायक बनलाई बाहिर पार्दै जाने छ। पश्चिम तर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ। उत्तर तर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ। यसको पूर्वमा छ्यासीकोट देखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुल सम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदी सम्मको क्षेत्र रहेको छ ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ। यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुादै महादेव खोला सम्मको क्षेत्र समावेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad