नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताएका हुन्। यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेत समेत गराए।
उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए। उनले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पत्तिसम्बन्धीको विषय छिटो टुंगियोस् भन्ने नेपाली कांग्रेसको चाहाना रहेको पनि बताए।
सभापति थापाले केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको टिप्पणी गर्दै त्यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पारे।
उनले भने,‘केही न्यायमूर्ति र राष्ट्रिय राजनीतिमा संलग्न नेताहरूले हामी सम्पत्ति विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ। त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर नेपाली कांग्रेसको तर्फबाट म पनि र अन्य सबै साथीहरुले पनि आफ्नो सम्पत्ति विवरण बुझाउनुहुन्छ। हामी यो प्रक्रियमा टुंगिनुपर्छ भन्ने ठान्छौँ। तर आयोग जसरी गठन भएको छ र जुन तरिकाले सरकारको कार्यदेशमा यो अगाडि बढिरहेको छ। भोलि यो आयोगको स्वच्छतामाथि प्रश्न नआओस्।’
बालेन्द्र साह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो।
Shares

प्रतिक्रिया