नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले वर्तमान सरकार षड्यन्त्रको उपज भएको बताए।
‘उनीहरू (सरकार)ले मेरो पनि सम्पत्ति विवरण मागेका छन्,’ ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण!’
उनले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताए।
‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं। अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे जे गर्न सक्छ, गरोस्,’ ओलीले भने।
विपक्षीलाई फसाउन आयोग गठन गरिएको दाबी पनि उनले गरे। ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो। प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ।’

प्रतिक्रिया