नेकपा सहसंयोजक माधव नेपालले वामपन्थी शक्तिहरूले विगतको भूमिकामाथि समीक्षा गर्नुपर्ने बताएका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वाम शक्तिहरूले अरूलाई आरोप लगाएर मात्रै नहुने बताए।
उनले भने, ‘राजनीतिमा भएका विकृति–विसङ्गतिहरू त्यसलाई अन्त्य गर्नका लागि पनि हामीले गम्भीर हुनुपर्ने आवश्यकता छ। नेपालको राजनीतिमा रहेका विकृति–विसङ्गतिहरूबाट वामपन्थीहरू मुक्त छैनन्। त्यसो हुनाले वामपन्थीहरूले पनि आफ्नो भूमिका, विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ। कहाँ हामी चुकियौँरु अरूलाई आरोप मात्र लगाएर पुग्दैन।’
उनले वाम शक्तिहरूको विगतको गतिविधि, व्यवहार, जीवनशैलीहरूमा कहाँ त्रुटि रहेरु यी सबैको पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले थपे, ‘आउनुहोस्, हामी खुला मनले बसेर छलफल गरौँ। विभिन्न अवलम्बन गरिएका नीतिहरूको पनि समीक्षा गर्नु जरुरी छ। शासन सत्तामा जानेबित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन, आवश्यक छैन। दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन।’
उनले विगतको कुरालाई स्वीकार गर्दै कमजोरीलाई कमजोरीको रूपमा पनि स्वीकार गर्नुपर्ने बताए। आफ्नो देशका जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सक्यौँ भने मात्रै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको भनाइ छ।
उनले थपे, ‘एउटा नयाँ छलफल सुरु गरौँ। राष्ट्रियताको बारेमा, लोकतन्त्रको बारेमा, जनजीविकाको बारेमा विगतमा कम्युनिस्टहरूले, विगतमा नेपालका राजनीतिक पार्टीहरूले खेलेको भूमिकाको बारेमा पनि हामी समीक्षा गरौँ, मूल्याङ्कन गरौँ।’

प्रतिक्रिया