राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई नेपालको संस्कृति झल्कने उपहारहरू दिएको छ।
नवीनलाई अष्ट चिरञ्जीवी, फ्रेममा राखिएको पशुपतिनाथ मन्दिरको चित्र, चन्दन, रुद्राक्षका मालालगायत उपहार दिइएको थियो।
धार्मिक ग्रन्धका अनुसार अष्टचिरञ्जीवी भनेका ती आठ महान व्यक्तित्व हुन्, जसलाई युगौँयुगसम्म जीवन रहने वरदान प्राप्त भएको छ। यसको स्मरणले आयु, बल, ज्ञान, साहस तथा कल्याण प्राप्त हुने विश्वास गरिन्छ। अष्टचिरञ्जीवीहरूमा अश्वत्थामा, महाबली, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि रहेका छन्।
अर्को उपहार पशुपतिनाथ मन्दिरको चित्र फ्रेममा कलात्मक ढंगले सजाइएको छ। यसको चित्र निर्माणमा सुन र चाँदीको प्रयोग गरिएको बताइएको छ।
त्यस्तै लामिछानेले नवीनलाई चन्दन पनि दिएका थिए। यो चन्दन पशुपतिनाथको गर्भगृहमा स्थापित शिवलिंगमा अर्पण गरिने चन्दनका रूपमा लिइन्छ। शिवलिंगमा चन्दन भगवान शिवको तेश्रो नेत्रको रूपमा निर्माण गरिन्छ, जो ज्ञान, शक्ति र चेतनाको प्रतीक मानिन्छ। साथै यो चन्दन दैनिक पूजाआजा तथा विभिन्न धार्मिक अनुष्ठानहरूमा प्रयोग गरिन्छ। चन्दन पवित्र, शान्ति, श्रद्धा र अध्यात्मिक ऊर्जाको प्रतीक मानिन्छ।
साथै लामिछानेले नवीनलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए। रुद्राक्षको पवित्र र औषधीय महत्त्व छ। रुद्राक्षलाई हिन्दू धर्ममा धार्मिक एवं आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
Shares

प्रतिक्रिया