कला


विशेष प्रदर्शनीमा रूचाइयो ‘रोल नं‍ १’, फिल्म हेरेर कसले के भने?

विशेष प्रदर्शनीमा रूचाइयो ‘रोल नं‍ १’, फिल्म हेरेर कसले के भने?

नेपालखबर
जेठ १९, २०८३ मंगलबार २०:२९, काठमाडौँ

गत शुक्रबारदेखि  प्रदर्शनरत फिल्म ‘रोल नं. १’ को काठमाडौँमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) आयोजना गरिएको छ। विशेष प्रदर्शनीमा उपस्थित कलाकार र राजनीतिकर्मीबाट चलचित्रले राम्रो प्रतिक्रिया बटुलेको छ।

विशेष प्रदर्शनीमा सहभागीले चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई प्रशंसा गर्दैं ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताएका छन्। फिल्म हेर्न निर्देशक तुल्सी घिमिरे, कलाकार जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अभिनेत्री अञ्जना बराइली, निता ढुगांना, सञ्चिता लुइटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिमा तुलाधार, सरिता गिरी लगायत आएका थिए।

त्यस्तै, हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी, कमेडियन भरतमणि पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रिय सभा सांसद सुनिलबहादुर थापा, एन-प्याब्सनका महासचिव आरबी कटुवाल लगायतको उपस्थिति रहेको थियो।

फिल्म हेरेर निस्किएका हाँस्य कलाकार जितु नेपालले चलचित्रको संवाद र सन्देशको प्रशंसा गरे। उनले भने, ‘हामीले जहिले पनि बच्चालाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्‌यौँ। तर यो चलचित्रले प्रष्ट पारेको छ कि कोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन। शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई फिल्मले निकै सान्दर्भिक रूपमा उठाएको छ।’

त्यस्तै, अर्का लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले चलचित्रलाई एउटा ‘किताब’ को संज्ञा दिए। उनले भने, ‘यो चलचित्रभन्दा पनि एउटा पढ्नुपर्ने किताब जस्तो लाग्यो। विशेषगरी दुर्गम क्षेत्रको शिक्षा र एउटा बुवाले छोराको भविष्यका लागि गर्ने संघर्षले मेरो मन छोयो।’

चलचित्र हेर्न पुगेकी कलाकार लुनिभा तुलाधरले ‘रोल नं १’ हरेक अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताइन्। ‘यो चलचित्र हेरेपछि मलाई रोल नं १ विद्यार्थीले त हेर्नुपर्छ नै तर अभिभावकले हेर्नुपर्ने सिनेमा रहेछ भन्ने लाग्यो,’ लुनिभाले भनिन्, ‘हरेक अभिभावकले यो सिनेमा हेर्नुपर्ने रहेछ। आफ्नो छोराछोरीको रुचि केमा छ, उसले के गर्न चाहन्छ, के पढायो भने अथवा गरायो भने त्यसमा मन लगाउँछ भन्ने थाहा पाउन पनि यो सिनेमा हरेक अभिभावकले हेर्नैपर्छ।’

अभिनेत्री सञ्चिता लुइँटेलले फिल्मको लेखन र प्रस्तुतिलाई 'मर्मस्पर्शी' भन्दै यसले किताबी ज्ञानभन्दा 'सीप' ठूलो हो भन्ने सन्देश प्रभावकारी ढंगले दिएको बताइन्।

उनले भनिन्, ‘फिल्मको लेखन र प्रस्तुति निकै राम्रो छ। यसले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नगरी 'सीप'सँग जोडेको छ । आजको पुस्ताका बालबालिका र उनीहरूका अभिभावकले एकपटक यो फिल्म हेरेर धेरै कुरा सिक्न सक्छन् । फिल्मका संवाद र भावनाहरू निकै मर्मस्पर्शी छन्।’ 

अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा आफू निकै भावुक भएको र यसले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई वास्तविक रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन्। 

फिल्मका मुख्य कलाकार मुकुन्द पोखरेल र रेनु नाथ योगीको अभिनयलाई सबैले ‘जीवन्त’ भनेका छन्। विशेषगरी आमा र छोराको सम्बन्ध, र बुबाको सपनाका बीचमा पिसिएको एउटा बालकको भूमिकामा रहेका बाल कलाकारको कामको चौतर्फी प्रशंसा भएको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad