राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई पार्टीभित्र गुटबन्दी नगर्न र समस्या आफूलाई सुनाउन सुझाएका छन्। शुक्रबार सिंहदरबारस्थित रास्वपा दलको कार्यालयमा भएको कोसी र मधेस प्रदेश सांसदसँग छुट्टाछुट्टै छलफलमा सभापति लामिछानले यस्तो बताएका हुन्।
कोसीका सांसदले बोलेको एकहोरो सुनेका लामिछानेले मधेस प्रदेशका सांसदलाई आफ्नै कुरा बढी सुनाएका थिए। मधेसका सांसदको संगिठत भएर रास्वपाभित्र ‘विद्रोह’को तयारी भइरहेको सुइको पाएपछि लामिछानेले संवाद थालेको नेताहरू बताउँछन्।
‘पार्टीभित्र गुटबन्दीको कुरा भइरहेको थियो। त्यस कुरामा सभापतिज्यूलाई रिस उठेको देखिन्थ्यो,’ रास्वपा सांसद डा. शम्भु यादवले नेपालखबरसँग भने, ‘गुटबन्दी गर्नु भएन भन्नुभएको थियो। कुनै समस्या भए मलाई भन्नु भन्नुयो।’
सभापति लामिछानले संसद् र सम्बन्धित निर्वाचन क्षेत्रको काम कारबाहीबारे सांसदसँग चासो राखेका थिए। ‘काम कारबाही के भइरहेको छ, मन्त्रालयबाट के कस्तो सहयोग भएको छ भनेर सोध्नु भएको थियो,’ उनले भने।
जवाफमा सांसदहरूले मन्त्रीहरूलाई भेट्नै मुस्किल भएको गुनासो सुनाएका थिए। ‘मन्त्री र प्रधानमन्त्रीलाई समस्या सुनाउन नसकिए मलाई भन्नुस्, म कुरा गरौँला। सरकारलाई सहयोग गर्नुपर्छ,’ लामिछानेको भनाइ उदृधत गर्दै यादवले भने, ‘यो वर्ष सुशासनको वर्ष हो। अहिले तपाईहरूले मागे जति बजेट पाउने अवस्था छैन। यो बाध्यता बुझ्नु होला।’

सांसदहरूलाई आफ्नो क्षेत्रका सरकारी अस्पताल, विद्यालयलगायतका सरकारी कार्यालयको अनुगमन गरी सुधारका लागि रिपोर्ट तयार पर्न लामिछानेले निर्देशन दिएका छन्। ‘त्यो रिपोर्ट अनुसार सम्बन्धित मन्त्रालयमा समन्वय गरेर काम गर्नु होला। तपाईहरूको कुरा मन्त्रीले सुन्नु भएन भने मलाई भन्नुस्। मन्त्रीलाई म भनौँला। जनताको काम हुनुपर्छ। अहिले काम गर्नुभयो भने भोलि मत माग्नै पर्दैन। जनताले आफै दिनुहुन्छ,’ लामिछानेले भनेका थिए।
वर्षायम आउन लागेकाले कुनै पनि बेला ठूलो विपत्ति आउन सक्ने भन्दै तत्काल जनताको पीर मर्कामा उभिन तयार रहन लामिछानेको निर्देशन थियो।
संसद् र पार्टीबीच समन्वयका लागि सभापति लामिछानेले एप बनाएका छन्। सांसदलाई आफ्ना गुनासो र समस्या उक्त एपमार्फत पठाउन भनेको सांसद यादवले बताए। सांसदहरूले सीमा नाका, जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट तत्काल गर्नुपर्ने काम एपमा राखेर सम्बोधन ढिलो हुने गुनासो गरेका थिए।
जवाफमा लामिछानेले भने, ‘सीमा नाका, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा जनतालाई दबाउन खोजियो भने माथिबाट कुरा हुन्छ। जनताको तत्काल गर्नु कुरामा ढिला सुस्ती हुनुहुँदैन। तत्काल काम हुने व्यवस्था मिलाउँछु। चिन्ता नलिनुहोस्।’

सांसदहरूले संसदीय दलका पदाधिकारीको भूमिका माथि पनि प्रश्न उठाएका थिए। संसद्मा आउने विधेयकबारे आफूहरूले पूर्वजानकारी नपाएको उनीहरूको गुनासो थियो।
‘हामीले विधेयक संसद्मा पुगेपछि मात्र थाहा पाउँछौं। पूर्वजानकारी हुँदा तयारीका साथ प्रस्तुत हुन सकिन्थ्यो भनेर साथीहरू कुरा राख्नु भएको छ,’ उनको भनाइ थियो।
विभिन्न मन्त्रालयमा आफूले पेश गरेका योजना बजेटमा समावेश हुन्छ कि हुँदैन भन्नेमा रास्वपा सांसदहरूको चासो थियो। नागरिकलाई कम रकमबाट धेरै लाभ हुने खालका योजना बजेटमा समावेश हुने लामिछानेले आवश्वासन दिएका थिए।
सांसदले उठाएका सबै विषयको लामिछानेले एक-एक जवाफ दिएका थिए। मधेस प्रदेशका सांसद लामिछानेको जवाफबाट आफ्नो गुनासो सम्बोधन हुनेमा आशावादी देखिएका छन्।
यसअघि उनले कोसी प्रदेशका रास्वपा सांसदसँग छलफल गरेका थिए। कोसीका सांसदले भने तीन विषयमा गुनासो गरेका थिए। विशेष गरेर प्रधानमन्त्री, मन्त्री र उनीहरूको सचिवालयले भेट्न समेत नदिएको र वेवास्ता गरेको गुनासो गरेका थिए।
Shares

प्रतिक्रिया