समाज


१५ सय वर्षदेखि चलिरहेको रातो मच्छिन्द्रनाथको जात्रा, साइत जुराउने राज-ज्योतिष (भिडिओ)

रुखको बोक्रामा लेखिएको निम्तो राजा नभए पनि पुग्छ भक्तपुर दरबार

आयुषा ढकाल
जेठ ११ , काठमाडौँ

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो र प्रतिष्ठित जात्रा हो। विशेषगरी ललितपुर क्षेत्रमा मनाइने यो जात्रा करिब १ हजार ५ सय ३९ वर्ष पुरानो मानिन्छ। बौद्ध, शैव र वैष्णव धर्मावलम्बी सबैको साझा आस्था जोडिएको कारण यसलाई राष्ट्रिय स्तरकै महत्वपूर्ण चाडको रूपमा लिइन्छ।

धेरै पुस्तादेखि रातो मच्छिन्द्रनाथ जात्राको साइत जुराउँदै आइरहेको खलकका ज्योतिषी कीर्तिकिरण जोशीले यो जात्रासँग सम्बन्धित किंवदन्ती सुनाए। गुरु गोरखनाथका साधुसन्तहरू नेपाल भ्रमणमा आएको बेलामा उनीहरूले आफ्नो अपमान भएको महसुस गरेका थिए। यो कुरा थाहा पाएपछि गोरखनाथ क्रोधित भई नेपालका नवनागलाई साधनामा बाँधेर तपस्या गर्न बसे। नागहरू बन्धनमा परेपछि वर्षा हुन छाड्यो र काठमाडौँ उपत्यकामा अनावृष्टि भयो। नागलाई जलको प्रतीक पनि मानिन्छ। पानी नपर्दा अन्नबाली सुक्यो र भोकमारी फैलियो।

त्यसपछि गोरखनाथलाई कसरी उठाउने भनेर उपाय खोज्न थालियो। उनी आफ्ना गुरु मच्छिन्द्रनाथ आएपछि मात्र उठ्ने थाहा भएपछि भक्तपुरका राजा नरेन्द्रदेव मल्ल, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापु भारतको कामरूप क्षेत्रमा मच्छिन्द्रनाथलाई लिन गए।

मच्छिन्द्रनाथलाई नेपाल ल्याउने क्रममा उनकी आमाले रोकेपछि उनलाई तान्त्रिकले भमराको रूप दिएर कलशमा राखेका थिए। कलशलाई बुङमती ल्याउँदा राजा, आचार्य र भरिया थकित भएर निदाए। उनीहरू उठ्दा कलश हराएको थियो।

बुङमतीका स्थानीयले भने, ‘हामी खोजिदिन्छौँ, तर त्यसमा भएको आधा भाग हामीलाई दिनुपर्छ।’ 

पछि उनीहरूले नै कलश लुकाएको कुरा खुल्यो। वाचा अनुसार कलश आधा–आधा बाँड्नु पर्ने भयो। तर भमराको रूपमा रहेका मच्छिन्द्रनाथलाई आधा बाँड्न नसकिने भएकाले वर्षको ६ महिना बुङमती र ६ महिना पाटन राख्ने चलन बसेको जोशी बताउँछन्। यही कारण उत्तरायणमा पाटनमा बस्ने र दक्षिणायनमा बुङमतीमा राख्ने परम्परा कायम भएको मानिन्छ।

बुङमतीबाट पाटन उत्तर पर्छ तर यसलाई दक्षिणीगमन (दक्षिण यात्रा) भनिन्छ। पाटनतिर रथ ल्याउनुअगाडि एकपटक थोरै दक्षिणपट्टि लगेर उत्तरतर्फ रहेको पाटनमा ल्याइन्छ।

मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गोरखनाथ आफ्नो आसनबाट उठे र नागहरू स्वतन्त्र भए। त्यसपछि उपत्यकामा वर्षा भयो। त्यसैको खुसीयालीमा हरेक वर्ष साइत जुराएर बुङमतीबाट वर्षा आरम्भ हुनुअगाडि मच्छिन्द्रनाथलाई पाटन ल्याउने परम्परा चल्दै आएको छ।

ज्योतिषी कीर्तिकिरणका अनुसार यो जात्रा वैशाख कृष्ण प्रतिपदाको दिन स्नानदान गरेर सुरु हुन्छ। वैशाख शुक्ल प्रतिपदा (वैशाख १५ गते) मच्छिन्द्रनाथलाई रथारोहण गराइन्छ र चतुर्थी तिथिमा रथयात्रा आरम्भ (रथ तान्न सुरु) हुन्छ।

बुङमती, गाबहाल, सुन्धारा हुँदै विभिन्न टोलहरूमा राख्दै रथलाई लगनखेलको ठाटी टोलमा पुर्‍याइन्छ। त्यतिबेला सो टोलमा भोज गरेर चाडपर्व मनाइन्छ। यस जात्राको समयमा भोज भने जुन दिन आफ्नो टोलमा रथ पुग्छ, त्यही दिन गर्ने प्रचलन पनि छ। 

ठाटी टोल पुगेपछि भने रथलाई रोकिन्छ। त्यहाँबाट जाउलाखेल पुर्‍याउनका लागि साइत जुराउनुपर्ने हुन्छ। सोही साइत अनुसार ठाटी टोलबाट रथलाई जाउलाखेल एकै दिनमा पुर्‍याउन सकिन्छ। लगनखेलबाट केही अगाडि पुर्‍याएपछि रथको माथिबाट नरिवल गुडाउने चलन छ।

रथलाई चार दिन जाउलाखेलमा राखिन्छ। त्यतिबेला भोज गर्न बाँकी हुनेहरूले आफ्नो घरमा पाहुना बोलाएर भोज गर्ने गर्छन्। त्यसको चार दिनपछि भोटो जात्रा देखाएर रातो मच्छिन्द्रनाथको सबैभन्दा लामो जात्रा सकिन्छ र मच्छिन्द्रनाथलाई त्यही दिन बुङमती लगिन्छ।

यस पटक जेठ महिनामा मलमास परेकाले रथलाई जाउलाखेल लग्ने साइत असार ३ गतेका लागि जुरेको छ भने भोटो जात्रा ६ गते हुने कीर्तिकिरणले बताए।

भोटो जात्राको किंवदन्ती
भोटो जात्रामा नागदेवताको कथा जोडिन्छ। धेरै वर्षअगाडि कर्कट नागराजको श्रीमतीको आँखामा समस्या हुन्छ। नागरानीको समस्या वैद्यले पनि ठीक गर्न सकेनन्। उनको आँखा दुखेको ठीक गरिदिने मान्छे कोही पनि भएन। यो कुरा एक जना किसानले थाहा पाए। उनी त्यो चर्चा सुनेर नागको दरबारमा पुगे।

किसान त्यस्तो वैद्य जान्ने मान्छे थिएनन् तर पनि उनले ‘म ठीक गरिदिन्छु’ भने। केही दबाइ नभएका ती किसानले आफ्नै कानबाट मैलो निकालेर नागरानीलाई दिए। त्यो राखेपछि उनको आँखा ठीक भयो।

ठूला–ठूला वैद्यले ठीक पार्न नसकेको समस्या एउटा किसानले ठीक पारेपछि नागराजले खुसी भएर किसानलाई मणि जडिएको एउटा भोटो दिए। किसानले पाएको उपहार भोटो एकदिन हरायो। कोही वायुले चोरेको भन्थे त कोही भूतले लग्यो भन्ने गर्थे।

पछि त्यो भोटो भेटियो। तर कसको हो भन्ने पत्ता लाग्दैन। कसैको दाबी नपरेपछि प्रत्येक वर्ष त्यही सन्दर्भमा ‘यो भोटो कसको हो, यदि कसैको हो भने प्रमाणसहित लिन आउनुहोस्’ भनेर रथमा बसेर सबैलाई भोटो देखाउने गरिन्छ।

भोटो जात्रा रातो मच्छिन्द्रनाथसँग खासै सम्बन्धित नभएको कीर्तिकिरण बताउँछन्। तर मच्छिन्द्रनाथलाई नेपाल ल्याउने क्रममा कर्कट नागले खोला तर्नमा मद्दत गरेको कथा भने छ। रातो मच्छिन्द्रनाथको लामो जात्रा भोटो देखाएर नै समापन हुन्छ।

साइत जुराउने राज ज्योतिष
रातो मच्छिन्द्रनाथको जात्रा निकाल्ने क्रममा विभिन्न कुराका लागि साइत हेर्ने गरिन्छ। आजभन्दा ५० वर्ष अगाडिसम्म यसका लागि ४ जना ज्योतिषीहरू बस्ने गर्थे। ज्योतिष हेर्ने कामको जिम्मेवारी विभिन्न टोलका जोशी थर भएका चार खलकलाई दिइएको थियो।

कीर्तिकिरणको खलकले सबै तिथि–मिति गणना गरेर साइत जुराउँथे। जुरेको कुरालाई दस्ताबेजको रूपमा पूर्णमंगलका जोशी खलकले लेख्ने गर्थे। तेस्रो ज्योतिष दृष्टक र चौथो श्रवणकको रूपमा साक्षी बस्ने गर्थे। तर हाल मिति तय गर्ने र लेख्ने ज्योतिषी मात्र छन्।

कीर्तिकिरणका हजुरबुवा कीर्तिविक्रम जोशीले राजा त्रिभुवनको जन्म हुने कुरा भविष्यवाणी गरेका थिए। उनी जन्मिएपछि उनका पिता पृथ्वीवीर विक्रम शाहले कीर्तिविक्रम जोशीलाई उनको इच्छा अनुसार एउटा गुठी उपहार दिएका थिए। उनी सो समयका राज ज्योतिष थिए।

ज्योतिष कीर्तिकिरणका बुवा कीर्तिब्रह्मानन्द जोशी श्री ३ चन्द्र शमशेरको पालामा राज ज्योतिष थिए।

पाटनमा रहेको मंगलपाटीमा ज्योतिष कीर्तिकिरण र ज्योतिष पूर्णमंगल जोशी हरेक वर्ष दुई पटक साइत जुराउनका लागि बस्ने गर्दछन्। अन्य साइत भने घरमै बसेर निकालिने गरेको कीर्तिकिरण बताउँछन्। वैशाख २४ गते ज्योतिष कीर्तिकिरण र पूर्णमंगल जोशीले नै मंगलपाटीमा बसेर असार ३ गते लगनखेलबाट रथलाई जाउलाखेल लैजाने साइत जुराए।

जेठमा मलमास परेकाले सो समयमा शुभकाम गर्न नमिल्ने भएकाले असार ३ को साइत जुरेको उनले बताए। यसअघि असोजमा मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि साइत जुराएका थिए।

स्नानदानदेखि सबै साइत जुराउने र निमन्त्रणापत्र लेख्ने जिम्मेवारी कीर्तिकिरणको हो। जात्रा सुरु हुनेदेखि लिएर भोटो जात्रासम्मका लागि भक्तपुर दरबारमा पत्र पठाउने चलन रहिआएको छ। अहिले भक्तपुरमा कुनै राजा नभए पनि सो परम्परा मर्न नदिएको उनी बताउँछन्।

उनले चैत्र शुक्ल पक्षदेखि पूर्णिमासम्ममा परम्परागत शैलीमा रुखको बोक्रा (टाट) मा लेखेर निमन्त्रणा पत्र तयार पार्छन्। सो पत्रलाई ललितपुरको गुठीले भक्तपुर दरबारमा पठाउने गर्दछ।

भिडिओ :

 

जेठ १०, २०८३ आइतबार २०:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad