राजनीति


प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी

नेपालखबर
साउन ५, २०८३ मंगलबार १४:११, काठमाडौँ

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ। 

मंगलबार बसेको संसदीय सुनुवाई समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो। प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए।

संवैधानिक व्यवस्थाअनुसार, सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी परेको सभापति श्रेष्ठले बताए। समितिलाई सुनुवाई प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उनले जानकारी दिए। 

‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा प्रसतावित मानबहादुर कार्कीका सम्बन्धमा एउटा उजुरीको सूचना प्राप्त हुन आएको छ,’ समितिको बैठकमा सभापति श्रेष्ठले भने, ‘निर्वाचन आयुक्तको पदमा प्रस्तावित व्यक्तिहरू गुरुप्रसाद वाग्ले एवं डा. राजीव सुब्बाको सम्बन्धमा कुनै पनि उजुरीको सूचना प्राप्त नभएको तथा सुनुवाइ समितिले गर्ने निर्णय प्रक्रियाका सम्बन्धमा थप एकवटा सुझावसमेत समितिमा प्राप्त भएको व्यहोरा जानकारी गराउन चाहन्छु।’

समितिले संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रस्ताव अनुमोदन गरेको छ। यससँगै समितिका सदस्यलाई उजुरी वितरण गरिएको छ। 

सभापति श्रेष्ठकाअनुसार, पाल्पाको तानसेन नगरपालिका–९ का भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन्। उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको सभापति श्रेष्ठले बताए। 

त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाई प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएका छन्। प्रस्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले गोलाप्रथाको प्रस्ताव सान्दर्भिक नभएको सभापति श्रेष्ठको भनाइ छ। 

समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका प्रस्तावित तीन जनासँगको सुनुवाईका लागि साउन १२ र १३ गतेको समय निर्धारण गरेको छ।

सभापति श्रेष्ठका अनुसार साउन १२ गते दुई जना आयुक्त र साउन १३ गते प्रमुख आयुक्तको सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ। 
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सुनुवाईको लागि प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad