नेपाली कांग्रेसले राष्ट्रिय सभामा संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाउने तयारी गरेको छ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिटौलालाई दलको नेताबाट हटाउने तय गरेको हो। सिटौलाको ठाउँमा कमला पन्तलाई दलको नेता बनाउने समझदारी भएको एक नेताले बताए।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका सिटौलालाई सभापति गगन थापाले हटाउन खोजेका हुन्। उनको ठाउँमा ल्याउन लागेकी पन्त सभापति थापा पक्षकी सांसद हुन्।
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा पन्तले थापाको पक्षमा उभिएकी थिइन्। उनका पति मधु आचार्यले विशेष महाधिवेशनका लागि अभियाननै सञ्चालन गरेका थिए।
त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतकमा पनि फेरबदल गर्ने तयारी गरेको छ। अहिले प्रमुख सचेतक रहेका कृष्ण रोकायालाई हटाएर पदम परियारलाई बनाउने तय भएको छ। परियार पनि थापा पक्षकै सांसद हुन्।
कांग्रेसमा संसदीय दलको नेताले राष्ट्रिय सभामा संसदीय दलको नेता र प्रमुख सचेतक हेरफेर गर्ने व्यवस्था छ। सोमबार मात्रै कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङलदेम्बे चयन भएका छन्।
संसदीय दलको नेता चयनअघि नै आङदेम्बेसँग राष्ट्रिय सभामा संसदीय दलको नेता र प्रमुख सचेतक फेरबदल गर्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समझदारी भएको जनाइएको छ।
Shares

प्रतिक्रिया