राजनीति


उपसभामुख ठाकुरको तयारी: ‘संसद् चलाउनु परीक्षाजस्तै’

उपसभामुख ठाकुरको तयारी: ‘संसद् चलाउनु परीक्षाजस्तै’

आयुषा ढकाल
बैशाख १०, २०८३ बिहिबार १८:३४, काठमाडौँ

उनको जिन्दगीमा अचानक कायापलट आयो। पहिले सांसद बनिन्। त्यसको केही सातामै उपसभामुख। त्यसैले भर्खर इन्जिनियरिङ अध्ययन गरिरहेकी उनी आजभोलि संसदीय व्यवस्थालाई आत्मसात् गर्ने र कानुनका धाराहरूलाई बुझ्ने कोसिसमा लागेकी छन्।

उपसभामुख रुबी ठाकुरको दिनचर्या अहिले कुनै कडा अनुशासन भएको पाठशालाको विद्यार्थीको जस्तै बनेको छ। जहाँ उनी पास हुन अथक मेहनत गरिरहेकी छन्।

रुबीको मातृभाषा मैथिली हो। आमाको काखमा सिकेको यही भाषामा बोल्न उनलाई सजिलो लाग्छ। तर, अब उनले संसद् बैठक पनि चलाउनुपर्ने हुन्छ। नेपाली भाषाका भारीभरकम शब्दहरू सहज रुपमा उच्चारण गर्नुपर्ने हुन्छ। 

यतिबेला आफूलाई सोही कामका लागि सक्दो तयार गरिरहेको रुबीको भनाइ छ।

‘सभामुखज्यू संसदमा उपस्थित नभएको बेला मैले संसद् चलाउनुपर्ने हुन्छ। त्यसका लागि म तयारी गरिरहेको छु,’ ठाकुरले नेपालखबरसँग भनिन्, ‘अहिले त यो मेरो लागि परीक्षाजस्तै छ।’

रुबिलाई संविधानका पुस्तक पढिरहँदा आफूले इन्जिनियरिङको परीक्षाको लागि तयारी गरेको याद आउँछ। हरेक दिन कुन बैठकमा जाने, कसलाई भेट्ने र कुन कार्यक्रममा के बोल्ने भन्ने विवरण तयार पार्दा रुबीलाई आफ्नै कलेजको असाइनमेन्ट गरिरहेको जस्तो महसुस हुन्छ।

‘धेरै ठूलो जिम्मेवारी पाएको छु, त्यसैले रुटिनमा चलेको छु अहिले। भ्याइनभ्याइ मिटिङ हुन्छ। कलेजको पढाइ र कानुन पढ्नको लागि समय निकाल्नुपर्छ। खाजा खानको लागि एकछिन ब्रेक हुन्छ, त्यसपछि फेरि मिटिङ हुन्छ,’ उनी सुनाउँछिन्।

रुबिलाई आफ्नो कार्यालय पनि पाठशाला जस्तै लागेको छ। जहाँ गएर उनले हरेक दिन उपसभामुखका संसदीय भूमिका र कानुनी पाठको विषयमा अध्ययन गर्छिन्। बिदा पाए एक पटक घर पुग्ने सोच पनि छ।

‘कलेजको क्लासमा बिदा नदिए जस्तै भएको छ अहिले मलाई। सारै व्यस्त छु,’ रुबीले भनिन्, ‘बिदा पाएँ भने एकचोटि घर जान्छु।’

प्रशासनिक काम र सचिवालय व्यवस्थापनमा पनि उनले समय दिनुपरेको छ। त्यसमाथि उपसभामुखको सरकारी निवास जलेका कारण उनी चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बसेकी छिन्। सरकारले दिने घरभाडाभन्दा कोठाको भाडा बढी छ। 

‘भाडा तिर्नको लागि २५ हजार आउँदो रहेछ। म त ३५ हजार तिरेर बसेकी छु। धेरै गाह्रो छ,’ ठाकुरले नेपालखबरसँग भनिन्।

उता कलेजको पढाइ छुट्ने पीरले पनि उनलाई सताइरहन्छ। जनकपुरमा इन्जिनियरिङको दोस्रो सेमेस्टर पढ्दै गरेकी उनलाई कलेजले पटक–पटक हाजिर हुनका लागि सूचना पठाइरहन्छ। तर, जान मिल्दैन।

अहिलेसम्म शनिबार र आइतबारको खाली समय निकालेर रुबी अनलाइन कक्षा लिइरहेकी छन्, असाइन्मेन्ट पूरा गरिरहेकी छन्।

असहज भए पनि रुबी कलेजबाट ट्रान्सफर नलिने बताउँछिन्।

‘यहाँको कलेजमा ठूलो पैसा लाग्छ। कहाँबाट तिर्नु मैले त्यत्रो पैसा? त्यसैले म कलेज ट्रान्सफर गर्दिनँ,’ उनले भनिन्, ‘मेरो परिवारको स्थिति महँगो कलेजमा पढाउने खालको पनि छैन।’

सचिवालयका कर्मचारी र संसदका पदाधिकारीले आफूलाई सबैथोकमा मार्गदर्शन गरिरहेको र आफूले सिकिरहेको उनले सुनाइन्।

‘यति ठूलो जिम्मेवारी भएपछि कानुनका विषयमा बुझ्न पनि पर्‍यो नि,’ रुबिले नेपालखबरसँग भनिन्, ‘मलाई सबैले मार्गदर्शन गरिराख्नुभएको छ।’

रुबी उपसभामुख बनेपछि घर गएकी छैनन्। उनका आमाबुवा यतै बस्ने स्थिति पनि छैन। एक पटक उनका बुवाआमा उनलाई भेट्न काठमाडौँ आए। त्यतिले पनि आफूलाई ऊर्जा प्राप्त भएको रुबीले बताइन्।

दिनभरको व्यस्ततापछि रुबी साँझ आफैँ खाना बनाउँछिन्।

गरिबी र पछौटेपनको साङ्लो तोडेर संसद् छिरेकी रुबी

श्रम संस्कृति पार्टीबाट संसद् छिरेकी रुबीको बाल्यकाल कुनै चलचित्रको कथाभन्दा कम छैन। बिहान–बेलुकाको छाक टार्न र ६ जना छोराछोरी (४ छोरी र २ छोरा) पढाउन उनकोका बुवाले खुब मेहनत गर्नुपरेको थियो। उनले कहिले इँटा भट्टामा काम गरे, कहिले कपाल काट्ने काम गरे। तर, कमाइले नधानेपछि उनी साउदी अरब गए।

यता जनकपुरमा रुबिकी आमा अरूको जग्गा भाडामा लिएर खेतीपाती र भैँसीपालन गर्न थालिन्। परिवारमा अभाव यस्तो थियो कि सबै छोराछोरीलाई एकैपटक कापी-किताब किन्ने पैसा हुँदैनथ्यो। च्यातिएको सर्ट लगाएर स्कुल जाँदा शिक्षकको गाली खानुपरेको थियो अनि नयाँ किन्न पैसा हुँदैनथ्यो। 

मधेसमा जरा गाडेको दाइजो प्रथाबाट पनि उनको परिवार पीडित थियो। एउटी दिदीको विवाहका लागि बुवाले ऋण खोजेर दाइजो दिनुपर्‍यो र त्यही ऋण तिर्न उनी फेरि विदेशिन बाध्य भए। धेरै वर्ष भइसके पनि उनको परिवारले एकैसाथ बसेर आनन्दको सास अझै फेर्न पाएको छैन। छोरी उपसभामुख बनेपछि रुबीका बुवा केही समयअघि मात्र नेपाल फर्किएका छन्।

भाइबहिनी हुर्काउन रुबीकी ठूली दिदीले ७ कक्षामै पढाइ छोड्नुपरेको थियो। दुई दिदीको विवाह भइसकेको छ। एक बहिनी र दुई भाइ हाल पढ्दै छन्।

रुबी जेन-जी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेकी हुन्। धेरैको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी परिरहेको बेलामा उनले श्रम संस्कृति पार्टी रोजेकी थिइन्। छोरी राजनीतिमा लागेपछि उनकी आमालाई आफन्तले डर देखाएका थिए ः ‘छोरीको बिहे हुँदैन, राजनीति नगर।’

आमाले उनलाई रोक्न पनि खोजेकी थिइन्।

तर, रुबी आफ्नो निर्णयमा अटल रहिन्। बुवाले भने उनलाई साथ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad