प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज देशका सबै विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गर्दै छन्।
सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको छ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरूमा देखिएका समस्या र समाधानका उपायहरूबारे विमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनेछन्।
साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिलाई पनि प्रधानमन्त्री शाहले संवादमा बोलाएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि बैठकमा सहभागी हुनेछन्।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई पनि छलफलका लागि बोलाइएको छ।
Shares

प्रतिक्रिया