धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको एउटा साधारण परिवारमा जन्मिएकी यशोदा देवी यादवको जीवनकथा निकै संघर्षपूर्ण छ।
माइतीको आँगनबाट सुरु भएको उनको यात्रा विवाहपछि क्षिरेश्वर नगरपालिका–१० प्रष्टोकी पुगेपछि झन् जिम्मेवारीले भरियो। तर चुल्हो–चौका, परिवार र समाजको घेराभित्र सीमित हुनुपर्ने परम्परागत सोचलाई उनले आफ्नो दृढ इच्छाशक्ति र साहसले तोडिन्।
सुरुआती दिनमा घुँघट तानेर घर–घर पुग्दै समाज सेवा गर्ने यशोदाको मनमा एउटा प्रश्न सधैं उठ्थ्यो-‘केवल सेवा भावले मात्रै जनताको पीडा हटाउन सकिन्छ?’
गाउँका मानिसहरू आफ्ना समस्या बोकेर घरमै आइपुग्दा उनीहरूका आँखामा देखिने पीडा र निराशाले उनलाई भित्रैदेखि हल्लाइदिन्थ्यो। त्यही पीडाले उनलाई एउटा नयाँ बाटो रोज्न बाध्य बनायो। त्यो बाटो थियो–राजनीति।
२०७० सालमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी यशोदाले छोटो समयमै आफूलाई राजनीतिमा स्थापित गरिन्।
नगर संयोजकबाट सुरु भएको उनको राजनीतिक यात्रा प्रदेश कमिटी सदस्य हुँदै यतिबेला संघीय सांसद्सम्म पुगेको छ।

दुई वर्षमै नगर समितिबाट जिल्ला समितिसम्म पुग्नु उनका लागि ठूलो उपलब्धि थियो। समाज र पार्टीप्रतिको समर्पणले उनलाई अझै उचाइतर्फ डोर्याउँदै लग्यो।
२०७४ सालमा उनले क्षिरेश्वर नगरपालिकाको उपमेयर पदमा चुनाव लडिन्। जित नजिक पुगेर पनि थोरै मतले पराजित हुँदा उनको मन खिन्न भयो। तर त्यो हारले उनको आत्मबल तोड्न सकेन। बरु झन् बलियो बनायो।
त्यसपछि पनि पार्टीप्रति उनको निष्ठा र सक्रियतामा कमी आएन। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा उनको नाम चौथो नम्बरमा अटायो।
त्यतिबेला उनमा सांसद बन्छु कि भन्ने आशा पलाएको थियो। तर तीन नम्बर सूचीमा समेटिएका मात्र सांसद बने। उनी संसद पुग्नबाट रोकिइन्। त्यो क्षण उनका लागि निकै पीडादायिक थियो, तर उनले हार मानिनन्।
समयले फेरि अवसर दियो। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनलाई पुनः विश्वास गर्यो। उनी एमालेको समानुपातिक सूचीमा परिन्।
समानुपातिक तर्फको बन्द सूचीमा मात्रै होइन, यसपटक उनले सांसद पद नै हात पारेकी छन्।
आज उनी संघीय संसदको प्रतिनिधिसभा सदस्यमा उभिएकी छिन्- हजारौं महिला र समाजका विपन्न वर्गको सपना बोकेर।
‘अब म घर–घर धाउनुपर्ने बाध्यतामा छैन,’ उनी भन्छिन्, ‘अब म कानुनी रूपमा जनताको आवाज उठाउने ठाउँमा पुगेकी छु।’
उनका श्रीमान महेन्द्र यादव पनि राजनीतिमा सक्रिय छन्। उनी एमालेको प्रदेश कमिटीका सदस्यसहित व्यवसायमा पनि संलग्न छन्।
श्रीमानको राजनीतिमा सक्रिय रहँदा घरमा आउने जनताका समस्याले यशोदालाई अझै गहिरो रूपमा समाज बुझ्न मद्दत गर्यो। त्यही अनुभवले आफूलाई राजनीतिक रूपमा परिपक्व बनाएको उनी बताउँछिन्।
एसएलसीसम्म पढेकी यशोदाको दुई छोरा—शिवम् र विशाल छन्। शिवम् सीए अध्ययनरत छन् भने विशाल प्लसटुमा पढ्दैछन्।
उनी आफ्ना छोरालाई प्रेरणाका स्रोत मान्छिन्। परिवार, समाज र राजनीति तीनै मोर्चामा सन्तुलन मिलाउँदै अघि बढ्नु यशोदाका लागि सहज छैन। तर यस्ता समस्यालाई आफूले सम्भव बनाउँदै आएको उनले सुनाइन्।
आज पनि उनी मधेसमा दाइजो प्रथा, बेरोजगारी, लागू औषध र विकास निर्माणमा पछौटैपन समस्याका रूपमा विद्यमान छन्। ‘मधेसका यी समस्या अन्त्यका लागि कानुन बनाउन म संसदमा आवाज उठाउँछु,’ यशोदाले भनिन्।
यतिबेला सरकारमा आफ्नो पार्टी नभए पनि उनी निराश छैनन्। ‘हामी सरकारमा नभए पनि सरकारलाई झकझक्याउने काम गर्छौं,’ उनले भनिन्।
Shares

प्रतिक्रिया