कला


‘बुकी’को प्रिमियर शो जापानमा गरिने

‘बुकी’को प्रिमियर शो जापानमा गरिने

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १८:२२, काठमाडौँ

विवश कुमार माझी र मोहन केसीको निर्देशन रहेको फिल्म ‘बुकी’ को प्रिमियर शो जापानमा गरिने भएको छ। निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो।

फिल्मको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ। ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ। यो प्रिमियरलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो चलचित्र खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको प्रष्ट पार्छ। साथै, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन्। अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन्। उनको लुक्सले उनी चलचित्रमा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको दर्शाउँछ। 

‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो। निर्माण पक्षका अनुसार यो चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ। चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।

यस फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।

 निर्माण पक्षले सन् २०२६ भित्र देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad