नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ परिस्थित अनुसार अगाडि बढ्न नसक्दा प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनु परेको बताएका छन्।
शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै नेपालले निर्वाचनको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए। नेता नेपालले निर्वाचनमा कार्यकर्ताको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे।
‘जतिसुकै पढे पनि परीक्षामा फेल भयो भने के अर्थ छ?,’ नेपालले भने, ‘हामीले मात्रै होइन, एउटा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ।’
उनले चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको बताए। ‘चुनावको परिणाम हामीले अपेक्षा गरेको भन्दा विपरित भयो। किनभने हामीले पार्टी एकीकरणको काम पनि अझै संगठनात्मक एकीकरणको काम पनि अझै सम्पन्न गर्न पाएका छैनौँ। त्यसैले पनि अझै पनि पुरानै नाममा पनि कतिपय कामहरू भइरहेका छन्,’ उनले भने, ‘पुरानै मानसिकता अझै हामीमा छँदै छ। एकीकरण गरिसकेपछि हामीले प्रशिक्षण दिनुपर्ने हो, त्यो पनि दिन सकेका छैनौँ।’
नयाँ परिस्थितको विश्लेषण गरेर अगाडि बढ्न नसक्दा पनि चुनावी परिणाम अपेक्षा अनुसार नआएको उनको भनाइ थियो। नेकपाको ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले त्यसले नयाँ बाटो बनाउने बताए।
‘स्वाभाविक रुपमा नयाँ परिस्थितिमा कसरी अगाडि बढ्नुपर्छ त्यसको पनि हामीले त्यस हिसाबले जानकारी भनौँ, ज्ञान भनौँ, समझदारी भनौँ, त्यो हामीले विकास गर्न सकेका छैनौँ,’ अहिले नेकपाबाट बैठकमा त्यसबारे छलफल भइरहेको बताउँदै नेपालले भने, ‘सबै विचार धारणाहरूको हामी मन्थन गर्नेछौँ र एउटा निष्कर्षमा पुग्न गइरहेका छौँ।’
नेपालको राजनीतिमा कम्युनिस्टहरूले २००७ सालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेपालले कम्युनिस्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे। अब सबै मिलेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो।
‘चाहे मधेसवादी दलको कुरा गरौँ या अहिलेसम्मका अरु पार्टीहरूको कुरा गरौँ ती सबैलाई पनि राष्ट्रियताको इस्युमा होस्, लोकतन्त्रको इस्युमा होस्, संघीयताको इस्युमा होस्, गणतन्त्रको इस्युमा होस् या परिवर्तन रुपान्तरणको इस्युमा होस् साथ दिनेहरूलाई सँगसँगै समेटेर लानुपर्ने आवश्यकता पनि छ,’ उनले भने, ‘सबैभन्दा पहिले हामी आफ्नो खुट्टामा उभिने आँट गर्नुपर्छ। खुट्टामा उभिने आँट गरेनौं भने अगाडि बढ्ने र कुद्ने शाहस गरेनौँ भने एकताले मात्रै केही गर्ने वाला छैन।’
यससँगै संगठनलाई पनि एकढिक्का बनाएर लग्नुपर्नेमा उनले जोड दिए। ‘हामीले संगठनात्मक एकीकरण गर्ने सन्दर्भमा पार्टी कमिटीलाई एकताबद्ध गर्नुपर्नेछ, जनवर्गीय संगठनलाई एकताबद्ध गर्नुपर्नेछ। त्यसैगरी देश–विदेशमा रहेका हाम्रा नेपालीहरूको माझमा प्रवासमा रहेका नेपालीहरूको माझमा रहेको संगठनलाई पनि एकताबद्ध गर्नुपर्नेछ,’ उनले भने।
Shares

प्रतिक्रिया