राजनीति


संविधानमाथि छेडखानी भयो भने सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

संविधानमाथि छेडखानी भयो भने सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

नेपालखबर
चैत २८, २०८२ शनिबार १७:३१, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। 

शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन्। 

वर्तमान सरकारले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने उनको भनाइ थियो। तर संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पु¥याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने उनको भनाइ थियो। 

‘यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं। तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं,’ प्रचण्डले भने।

विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले शतर्क रहन आग्रह गरे। ‘अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको छ, हामीले शतर्क हुन भनिराख्या छौँ अहिले,’ उनले भने, ‘जनताले लामो संघर्ष, ठूलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगरियोस्।’

संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरू संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए। 

‘संविधान संशोधनका हामी विरोधी त छैनौँ, तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुनप¥यो, जनतालाई अधिकार थप्नको लागि हुनप¥यो, खोस्नलाई होइन। संघीयतालाई अझ बलियो बनाउनको लागि हुनप¥यो, त्यसलाई कमजोर पार्नको लागि होइन। त्यो हुँदा हाम्रो सकारात्मक नै भूमिका र सहयोग हुन्छ भन्ने कुरा पनि हामीले भनेका छौँ,’ उनले भने। 

हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उनले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए। पार्टी एकीकरणको प्रक्रियालाई केही दिनभित्रै तल्लो तहसम्म टुङ्ग्याउने जानकारी दिँदै प्रचण्डले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 

‘हामीले सोचेको भन्दा अलि फरक ढङ्गले निर्वाचन परिणाम त आएको छ, त्यसको समग्र समीक्षामा पनि हामी लागेकै छौँ। तर हाम्रो लागि अहिले कमरेड माधवकुमार नेपाल, म हिजो आन्दोलनको बेलामा, निरङ्कुश राजतन्त्रका विरुद्ध आन्दोलनको बेलामा अनि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने प्रक्रियामा हामीले सँगै संघर्ष र धेरै मेहनत गरेर देशलाई एउटा युगिन परिवर्तनतिर लान हामी सफल भएकै हो,’ प्रचण्डले भने। 

जनवर्गीय संगठन र विभागहरूको एकीकरणपछि देशभर एउटै बुझाइका साथ वैचारिक र राजनीतिक प्रशिक्षण चलाइने उनको भनाइ थियो।

‘हामीले यो पटक एकीकरणको प्रक्रियालाई पनि केही दिनभित्र देशभरि सबै प्रदेशमा पनि जिल्ला र स्थानीय तहसम्म पनि सम्पन्न गर्ने, अनि त्यसपछि जनवर्गीय सङ्गठन र विभागहरुको पनि एकीकरणको प्रक्रियालाई औपचारिक ढङ्गले टुङ्ग्याउने, त्यसपछि हामी क्रमशः तलबाट सम्मेलनहरु हुँदै महाधिवेशनसम्म पुग्ने,’ उनले भने, ‘किनकि हामीले एकीकरण प्रक्रियालाई अगाडि बढाउँदै गर्दा हामीले ६ महिनाभित्र महाधिवेशन गर्ने भन्ने एउटा प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ र त्यसैअनुसार हामी यो बैठकमा पनि हामी महाधिवेशनको मिति र महाधिवेशनको प्रक्रियाबारे पनि हामी छलफल गर्दैछौँ।’

निर्वाचन परिणामले केही फरक मोड लिए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आत्मसमीक्षासहित जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिए। उनले १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने आवश्यकता औंल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad