प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन्।
शनिबार सिंहदरबारमा सम्पन्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय काममा छलफलसम्म हुन नसकेको बताए। सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको भए पनि कतिपय कामबारे छलफलसमेत हुन नसकेको उनको भनाइ थियो।
‘सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफल समेत भएको छैन। काम पूरा हुनु त धेरै टाढाको कुरा हो,’ महामन्त्री पौडेलले भने।
सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने उनले बताए। कांग्रेसले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको पौडेलले बताए।
कांग्रेसको आन्तरिक विषय र आगामी १५औँ महाधिवेशनका सन्दर्भमा बोल्दै महामन्त्री पौडेलले पार्टीभित्र केही असन्तुष्टिहरू रहेको सुनाए। पहिले पनि असन्तुष्टि हुने गरेको उल्लेख गर्दै उनले अहिलेको समस्यालाई व्यवस्थापन गर्न नेतृत्वले संवाद र छलफल भइरहेको जानकारी दिए।
‘पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ,’ उनले भने, ‘आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता र अग्रजहरूको सम्मानजनक सहभागिता हुनेछ। महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन्।’
महामन्त्री पौडेलले आगामी महाधिवेशनलाई सबैको अपनत्व महसुस हुने गरी समावेशी र उत्साहजनक रूपमा सम्पन्न गर्न पार्टी पंक्ति क्रियाशील रहेको बताए।
Shares

प्रतिक्रिया