राजनीति


कार्की आयोगको प्रतिवेदन ‘कलाविहीन नाटक’ : प्रदीप ज्ञवाली

कार्की आयोगको प्रतिवेदन ‘कलाविहीन नाटक’ : प्रदीप ज्ञवाली

नेपालखबर
चैत १२, २०८२ बिहिबार १२:५९, काठमाडौँ

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले भदौ २३ र २४ को जनप्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेता ज्ञवालीले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई 'एउटा कलाविहीन नाटक' को संज्ञा दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले प्रतिवेदन तथ्यपरक हुनुको सट्टा निश्चित 'स्क्रिप्ट' मा आधारित रहेको आरोप लगाए।

नेता ज्ञवालीले भदौ २३ गतेको गोली प्रहारको विस्तृत चर्चा गर्ने प्रतिवेदनले भदौ २४ गते भएको राष्ट्रिय सम्पत्तिको विध्वंस र 'राष्ट्र दहन'बारे रहस्यमय मौनता साधेको टिप्पणी गरेका छन्। '२४ गते मोलोतोभ ककटेल बनाएर सार्वजनिक सम्पत्ति खरानी बनाउनेहरू को थिए भन्ने खोज्न आयोगलाई समय पुगेन,' उनले लेखेका छन्।

आयोगको सिफारिस विरोधाभासपूर्ण रहेको ज्ञवालीको दाबी छ। उनका अनुसार भदौ २३ मा संसद् भवन जोगाउन बल प्रयोग गर्ने र २४ गते सिंहदरबार तथा सर्वोच्च अदालत जोगाउन बल प्रयोग नगर्ने दुवै अवस्थाका सुरक्षाकर्मीलाई कारबाही सिफारिस गरिनु न्यायसङ्गत छैन।

मुख्य जिम्मेवारी छाडेर आयोगले  पत्रकारको योग्यता, संवैधानिक नियुक्ति र मन्त्रिपरिषद् गठन जस्ता क्षेत्राधिकार बाहिरका विषयमा 'निबन्ध' लेखेको तर हिंसा भड्काउने घुसपैठियाबारे मौन रहेको उनको आरोप छ।

ज्ञवालीले प्रतिवेदनको निष्कर्ष पहिले नै तयार पारिएको दाबी गर्दै भनेका छन्, 'यो पटकथा कार्की श्रीमानले भदौ २४ मै लेखिसक्नुभएको थियो।' उनले लामो समय प्रहरी सङ्गठनमा बिताएका अधिकृत र कानुनका जानकारहरूले राष्ट्रिय सुरक्षाकै धज्जी उडाउने यस्तो कागजमा कसरी हस्ताक्षर गरे भन्दै आश्चर्य प्रकट गरेका छन्।

राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्वमाथि अनुसन्धान नै नगरी कानुनको दफा तोकेर कारबाही सिफारिस गरिनुले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको ज्ञवालीको निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad