हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालका पुराना राजनीतिक दलहरुभित्र हलचल पैदा भएको छ। विशेषतः नेपाली कांग्रेसभित्र यस निर्वाचन परिणामलाई लिएर बहस चलेको देखिन्छ। कतिपयले पार्टी नेतृत्व र खासगरी सभापति गगन थापाको रणनीतिलाई लक्षित गर्दै आलोचना गरिरहेका छन्। चुनावी तालमेल नगर्ने उनको निर्णयलाई पराजयको प्रमुख कारण भएको तिनको दाबी छ।
तर, लोकतान्त्रिक राजनीतिमा वास्तविकता बहुआयामिक हुन्छ। निर्वाचन परिणामलाई केवल एक व्यक्तिको रणनीति वा नेतृत्वसँग जोडेर व्याख्या गर्नु राजनीतिक यथार्थको जटिलता र चरित्रलाई संकुचित दृष्टिकोणबाट हेर्नु हो।
राजनीतिक सिद्धान्तको दृष्टिले हेर्दा नेतृत्वको परीक्षण विजयको क्षणमा मात्र हुँदैन; नेतृत्वको वास्तविक मूल्यांकन त संकटको समयमा हुन्छ। साँचो नेतृत्व प्रतिकूल परिस्थितिमा पलायन हुँदैन। बरु, चुनौतीलाई सामना गर्छ। नेतृत्व भनेको समस्याबाट टाढा भाग्नु होइन, संस्थाको उद्देश्य, मूल्य र अस्तित्वको रक्षा गर्दै चुनौतीहरूको समाधान खोज्ने जिम्मेवारी सचेत रूपमा स्वीकार गर्नु हो।
यही सन्दर्भमा हेर्दा निर्वाचन परिणामलाई केवल व्यक्तिगत असफलताका रूपमा व्याख्या गर्दै नेतृत्वबाट राजीनामाको अपेक्षा गर्नु राजनीतिक रूपमा सरल तर रणनीतिक रूपमा अपरिपक्व दृष्टिकोण हुन सक्छ।
नेपालको समकालीन राजनीतिक परिदृश्यमा मतदाताको व्यवहार, दलहरूको संगठनात्मक क्षमता, नेतृत्वप्रतिको विश्वास, गठबन्धनको राजनीति तथा जनआकांक्षाको परिवर्तनजस्ता अनेक पक्षहरूले निर्वाचन परिणामलाई प्रभावित गर्ने गर्छन्। पछिल्लो दशकमा देशको शीर्ष राजनीतिक नेतृत्व, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बीच देखिएको निरन्तर सत्ता समीकरणको फेरबदलले जनमानसमा राजनीतिक अस्थिरताको अनुभूति पैदा गरेको छ।
यस अवस्थालाई धेरै मतदाताले ‘कुर्सी अदलाबदलीको राजनीति’का रूपमा बुझेका थिए। जहाँ प्रतिस्पर्धात्मक लोकतान्त्रिक बहसभन्दा सत्ता साझेदारीको समीकरण बढी प्रभावशाली थियो। परिणामस्वरूप, मतदाताले वैकल्पिक राजनीतिक शक्तिहरूतर्फ ध्यान केन्द्रित गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, बालेन्द्र शाहसँग जोडिएको राजनीतिक विमर्श तथा विवेकशील पृष्ठभूमिबाट आएका राजनीतिक प्रवृत्तिहरूलाई यही असन्तुष्टिको अभिव्यक्तिका रूपमा व्याख्या गर्न सकिन्छ।
यद्यपि, नयाँ राजनीतिक शक्तिहरूको उदयलाई तुरुन्तै दीर्घकालीन संरचनात्मक परिवर्तनहो भनेर निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) जस्ता परम्परागत दलहरू अझै पनि गाउँ, वडा र जिल्ला तहसम्म बलियो संगठनात्मक संरचनासहित स्थापित राजनीतिक संस्थाहरू हुन्। त्यसैले निर्वाचन परिणामले जनअसन्तुष्टि देखाए पनि परम्परागत दलहरूको पूर्ण अस्वीकारको संकेत भने दिँदैन।
निर्वाचन परिणामले नेपाली कांग्रेसलाई एउटा महत्वपूर्ण राजनीतिक सन्देश दिएको छ—इतिहासको गौरव मात्रले वर्तमान राजनीतिक प्रतिस्पर्धामा सफलता सुनिश्चित गर्न सक्दैन। लोकतन्त्रमा मतदाताको अपेक्षा निरन्तर परिवर्तन भइरहेका हुन्छन्, र अहिलेका मतदाताले नीति, सुशासन, पारदर्शिता र आर्थिक अवसरका आधारमा दलहरूको मूल्याङ्कन गर्न थालेका छन्।
यस सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो संगठनात्मक संरचना, उम्मेदवार छनोट प्रक्रिया, आन्तरिक लोकतन्त्र र राजनीतिक सन्देशलाई समयानुकूल पुनःपरिभाषित गर्न आवश्यक देखिन्छ। पार्टीको वास्तविक शक्ति केवल केन्द्रीय नेतृत्वमा मात्र सीमित हुँदैन; यसको आधार वडा, गाउँ र स्थानीय तहसम्म फैलिएको संगठनात्मक संरचनामा निहित हुन्छ। यदि यही संरचना सक्रिय र सुदृढ रह्यो भने कुनै पनि राजनीतिक चुनौतीलाई सामना गर्न पार्टी सक्षम हुन्छ।
हारको जिम्मेवारी लिँदै राजीनामा दिएका गगनको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेको छ। यो निर्णय सही कि गलत भन्ने बहस पनि चलिरहेको छ।
कांग्रेसभित्रको नयाँ पुस्ताको प्रतिनिधित्व, वैचारिक स्पष्टता र संगठनात्मक ऊर्जा हेर्दा गगन थापाको नेतृत्व पार्टीको पुनर्जीवनका लागि एउटा महत्वपूर्ण सम्भावना हो। यही कारणले अहिलेको समय उनको लागि व्यक्तिगत राजनीतिक प्रतिष्ठाभन्दा पनि संस्थागत उत्तरदायित्वको क्षण हो।
तसर्थ गगन राजीनामा दिएर पन्छिएको भए त्यसले पार्टीभित्र उत्पन्न भएको परिवर्तनको सम्भावनालाई कमजोर बनाउन सक्थ्यो। यसविपरीत उनी नेतृत्वमा फर्केका छन्। उनले संगठनलाई पुनःएकीकृत गर्दै पार्टी कार्यकर्ताहरूलाई उत्साहित गर्ने, वैचारिक स्पष्टता दिने र संगठनात्मक सुधारको नेतृत्व गर्ने जिम्मेवारी स्वीकारेका छन्। यो संकट कांग्रेसको पुनरुत्थानको आधार बन्न सक्छ।
राजनीतिक इतिहासले पनि देखाएको छ कि धेरै संस्थाहरू संकटका क्षणमै पुनःनिर्माणको प्रक्रिया सुरु गर्छन्। त्यसैले अहिलेको समय गगन थापाका लागि केवल व्यक्तिगत राजनीतिक निर्णयको क्षण होइन; यो पार्टी संगठनलाई सुदृढ बनाउने नैतिक तथा ऐतिहासिक दायित्वको क्षण पनि हो।
प्रतिनिधिसभा निर्वाचनलाई नेपाली कांग्रेसका लागि पराजयको घटनाका रूपमा मात्र हेर्नु उचित हुँदैन। यसलाई समकालीन नेपाली राजनीतिक संरचनामा भइरहेको परिवर्तनको संकेतका रूपमा बुझ्नुपर्छ। निर्वाचन परिणामले देखाएको मुख्य सन्देश भनेको परम्परागत दलहरूले आफ्नो संगठनात्मक संरचना, नेतृत्व शैली र राजनीतिक सन्देशलाई समयअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता हो।
नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई सम्मान गर्दै समकालीन राजनीतिक यथार्थसँग तालमेल मिलाउन सकेमा पार्टी पुनः सशक्त रूपमा उभिन सक्ने सम्भावना अझै पनि बलियो छ। राजनीतिक इतिहासले पनि देखाएको छ कि कठिन परिस्थितिमा आत्मसमीक्षा, संगठनात्मक सुधार र वैचारिक पुनर्जागरणमार्फत नेपाली कांग्रेसले बारम्बार आफ्नो राजनीतिक शक्ति पुनःस्थापित गरेको छ।
त्यसैले वर्तमान चुनौतीलाई अन्तिम पराजयका रूपमा होइन, पुनरुत्थानको अवसरका रूपमा ग्रहण गर्नु आवश्यक छ। यदि पार्टीले आत्मसमीक्षालाई संस्थागत सुधारसँग जोड्दै नयाँ ऊर्जा, स्पष्ट राजनीतिक दृष्टिकोण र सुदृढ संगठनात्मक आधारका साथ अघि बढ्न सक्छ भने नेपाली कांग्रेसले भविष्यमा पुनः व्यापक जनसमर्थन प्राप्त गर्ने सम्भावना कायम रहनेछ।
Shares

प्रतिक्रिया