नेपाली कांग्रेस केन्द्रीय समितिका ३५ नेताले आज सभापति गगनकुमार थापालाई भेटेर पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा सभापति थापाकहाँ गएका नेताहरूले उनलाई अहिले पार्टी प्रमुखको जिम्मेवारीबाट नबाहिरिन अनुरोध गरेका हुन्।
‘यो विषम परिस्थितमा तपाईंले कुनै हालतमा पनि सभापति पदबाट राजीनामा दिन हुँदैन भन्यौँ’, सहमहामन्त्री रसाइलीले नेपालखबरसँग भने।
सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित केन्द्रीय समितिका करिब ३५ नेता पुगिएको उनले बताए।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफू अनि पार्टीले लज्जास्पद हार बेहोरेको भन्दै थापा सभापति पदमा राजीनामा दिने मुडमा पुगेपछि नेताहरूले उनलाई यसो नगर्न दबाब दिइरहेका छन्।
केही दिनअघि उपसभापति विश्वप्रकाश शर्माले पनि सभापति थापालाई अहिले पदबाट राजीनामा नदिन सुझाव दिएका थिए।
Shares

प्रतिक्रिया