शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार नियुक्त गरेका छन्।
शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव भएका झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिपअन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न छन्। यसअघि झा काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्य रहेका थिए।
उनले टिचर्स फर नेपालमा पनि काम गरेका थिए। त्यस्तै, झा बीआइटीएस लिडर इन्टरनेश्नल प्रालिका संस्थापक अध्यक्ष पनि हुन्।
उनले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले विभिन्न देशमा आयोजना भएका शिक्षा, नेतृत्व, विपद् जोखिम न्यूनीकरण, सार्वजनिक नीति र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
Shares

प्रतिक्रिया