संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई आरोग्य (वेलनेस) पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न सरकार ‘आरोग्य पर्यटन दशक’ मनाउने तयारीमा रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले सांसदहरूलाई आरोग्य पर्यटन वर्षमा मात्र सिमित नभई आरोग्य पर्यटन दशमा केन्द्रित भएर छलफल गर्न आग्रह समेत गरे। उनले अगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्द्धनको आधार निर्माण गर्ने वर्षका रूपमा अघि बढाइने समेत जानकारी दिए।
मन्त्री पौडेलले नेपालले आरोग्य पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्दै अप्रिल १५ लाई संयुक्त राष्ट्रसंघले ‘विश्व आरोग्य दिवस’का रूपमा मान्यता दिएको स्पष्ट पारे।
उनले भने, ‘हामी आरोग्य पर्यटन दशक पनि मनाउँदैछौँ। यो वर्ष हाम्रो फर्टिफिकेसनको वर्ष हो। हामीले आरोग्यको क्षेत्रमा सबैभन्दा ठुलो उपलब्धी के गर्यौँ भन्नुहुन्छ भने १५ अप्रिललाई संयुक्त राष्ट्र संघले समेत आरोग्य दिवसको रुपमा मान्यता दियो। यो हामीले राखेको प्रस्ताव थियो। ध्यान र योग दक्षिण एशियाले विश्वलाई दिएका उपहारहरू हुन्। ती सबै उपहारहरूको भावभूमि र देवभूमि नेपाल हो।’
Shares

प्रतिक्रिया