राजनीति


इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ: प्रदीप ज्ञवाली

इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ: प्रदीप ज्ञवाली

नेपालखबर
फागुन ३०, २०८२ शनिबार १४:१, काठमाडौँ

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले चुनावमा बेहोर्नु परेको ठूलो धक्काले इतिहासकै कठिनतम बिन्दुमा आइपुगेको औल्याएका छन्। 

प्रतिनिधि सभाको चुनावमा एमाले लगायतका दलले भोगेको पराजयबारे समीक्षा गर्दै ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका छन्। चुनावमा एमालेले भोगेको धक्का गम्भीर भएको उल्लेख गरेका छन्। ज्ञवालीले भनेका छन्, ‘हामीले बेहोरेको धक्का इतिहासकै गम्भीरतम मध्येको हो।’

यस पटकको चुनावमा एकदमै उत्कृष्ट नतिजाको अपेक्षा नगरेको पनि उनले खुलाएका छन्। ‘एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो। तर यस्तो धक्काको अनुमान भने थिएन,’ ज्ञवालीले भनेका छन्। 

यसका पछाडि विभिन्न कारण रहेको पनि उनले औल्याएका छन्। लोकतन्त्रका लागि असहज स्थितिमा चुनावमा सहभागी हुने परेको उनले बताएका छन्। 

‘हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ। जुन पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएका थिए, जसका २ सय भन्दा बढी नेता कार्यकर्ताका घर खरानी बनाइएका थिए, जसका अध्यक्षलाई स्थान हद तोकेर केही दिन अगाडिसम्म काठमाडौँमै खुम्च्चाइएको थियो र जसका कार्यक्रमहरूमा बारम्बार धम्की, अवरोध र आक्रमण गरिएका थिए- त्यस पार्टीले निर्वाचनको सामना गर्नु आफैमा अदम्य साहस, लोकतन्त्रप्रतिको अविचलित निष्ठा र जनतामाथिको भरोसाको दृष्टान्त थियो,’ उनले भनेका छन्। 

यसले गर्दा इतिहासकै कठिन अवस्थामा आइपुगेको उनले औल्याएका छन्। ज्ञवालीले भनेका छन्, ‘फेरि पनि भन्नैपर्छ- हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ।’

यसमा आन्तरिक र वाह्य कारण रहेको उल्लेख गर्दै कतिपय सच्याउन सकिने पनि रहेको उल्लेख गरेका छन्। ‘तीमध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान्। कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए। कतिपय नीतिगत विषय होलान्। कतिपय संरचनागत प्रश्न छन्। शैलीगत कारणहरू छन्। नेतृत्व पङ्क्ति र व्यक्ति-व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन्,’ उनले भनेका छन्। 

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा गर्नुपर्ने उनले बताएका छन्। यसलाई उनले लोकतान्त्रिक आन्दोलनमाथिकै संकट भनेका छन्। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि भोगेको पराजयलाई उनले उदाहरणका रुपमा प्रस्तुत गरेका छन्। 

‘समीक्षा गरिएन, यो यस्तै हो भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ,’ ज्ञवालीले भनेका छन्, ‘वृहत्तर अर्थमा यो कम्युनिस्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो।

सुधारका विभिन्न विकल्प (नेतृत्व फेरबदल, पार्टीको नाम परिवर्तन, ठूलाठूला मोर्चाबन्दी, विद्रोह मार्फत् नयाँ पार्टी निर्माण आदि) रोजेका शक्तिहरूले पनि नराम्रो धक्का खाएका छन्।’

उनले सामूहिक प्रयासबाट फेरि उठ्न सकिने बताएका छन्। त्यसका लागि निर्मम आत्मसमीक्षा गर्नुपर्ने औल्याएका छन्। ‘समस्या र सङ्कटलाई सामूहिकतामा बोध गरौँ। निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ। सामूहिक निर्णय र जवाफदेहितालाई स्थापित गरौँ। आन्दोलनको हित र भविष्य नै सर्वोपरि हो,’ ज्ञवालीले भनेका छन्, ‘ढल्नु भनेको सकिनु होइन। फेरि उठ्नका लागि तयारी थाल्नु हो। आउनुहोस्- फेरि उठ्ने तयारी थालौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad