राजनीति


संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ

संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ

नेपालखबर
माघ १९, २०८२ सोमबार १५:९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएकी छन्। 

माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा सोमबार प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन्। राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे जानकारी गराएकी छन्। 

‘अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ। राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन्। जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ,’ कार्कीले भनिन्, ‘एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ  गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा निकाय परिचालित गरिएको छ।’

उनले यो निर्वाचन नयाँ यात्राको प्रस्थानबिन्दु बन्नुपर्ने बताइन्। ‘यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन, यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ,’ उनले भनिन्। 

आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताइन्। उनले राष्ट्रिय सभाको हालै भएको निर्वाचनबाट निर्वाचित सांसदलाई बधाई पनि दिइन्। 

प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिएकी हुन्। 

उनले सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्युनिकरणमा पूर्ण प्रतिवद्धताका साथ सरकार अघि बढिरहेको दाबी गरिन्। प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्युनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्। 

‘सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ। भ्रष्टाचार न्यूनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad