प्रधानमन्त्री सुशीला कार्कीले सरकार छोडेर चुनावमा गएका पूर्वमन्त्रीलाई दोष नलगाउन आग्रह गरेकी छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले उनीहरूलाई मन्त्री बनाउँदा नै छोड्न सक्ने गरी ल्याएको बताइन्। ‘मैले नै हात जोडेर जति दिन बस्नुहुन्छ बसिदिनुस् भनेको हुँ,’ कार्कीले भनिन्, ‘सरकारमा बसीबसी चुनाव लडेको भए बेइमानी गर्यो भन्न मिल्छ। दोष लाउनुहुन्छ भने मलाई लगाउनुस्, उनीहरूलाई नलगाउनुस्।’
त्यतिवेला जेनजीको दबाबका कारण मन्त्री बनाउनु परेको उनले खुलाइन्। ‘जेनजीको ठूलो प्रेसर थियो। जेनजीको मान्छे ल्याउन भनेको थियो। त्यतिवेला हामीले मान्नुपर्ने अवस्था थियो,’ उनले भनिन्।
उनीहरू मन्त्री छोडेर चुनावमा गएकाले अन्यथा लिन नहुने प्रधानमन्त्री कार्कीको भनाइ थियो। महावीर पुनको चुनावमा जाने योजना नभए पनि रिसाएर गएको उनले सुनाइन्। ‘पुन त रिसाएर हिड्नु भएको हो,’ राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीले भनिन्, ‘दुई-चार कानुन बनाउन खोजेको थियो। राम्रै कानुन थियो। तर, अहिलेको अवस्थामा कानून बनाएर सहयोग गर्न सकेनौँ।’
आफूले ल्याउन चाहेको कानुन बनाउन नसकेका कारण उनी रिसाएर गएको प्रधानमन्त्री कार्कीले बताइन्। मन्त्री छोडेर गएपछि कसैसँग सम्पर्क नभएको उनको भनाइ थियो। ‘गएपछि टेलिफोनमा सम्पर्क पनि छैन। कुनै माग राखेको पनि छैन,’ उनले भनिन्।
राष्ट्रिय सभामा बोल्ने सांसदले मन्त्री छोडेर पार्टीमा गएको भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले प्रस्टीकरण दिएकी हुन्।
Shares

प्रतिक्रिया