आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल यतबेला मतदातासँगको भेटघाटमा व्यस्त छन्।
उनी दाङका मतदासँग खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगिरहेका छन्।
घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग मत मागिरहेका छन्।
‘विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,’ उनले भने, ‘योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।’
आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको दाबी गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताए। स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै नले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदैे अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। स्थानीयले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि पोखरेलसँग गरेका छन्।
पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने प्रतिवद्धटा जनाए। ‘रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,’ उनले भने, ‘अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु।’
मतदातासँगको संवादमा उनले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘दाङको समृद्धि साझा एजेण्डा हो। यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ,’ पोखरेलले भने।
Shares

प्रतिक्रिया