राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको घरमा ग्रिल फोरिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरमा हाल प्रवक्ताको जिम्मेवारी लिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल बुढाथोकीका अनुसार काठमाडौँका मण्डिखाटारस्थित पूर्वमेयर बालेनको घरमा झ्यालको ग्रिल फोरिएको हो।
‘उहाँहरू कोही नभएका बेला ग्रिल फोरिएको पाइएको छ’, उनले शनिबार नेपालखबरसँग भने, ‘अहिलेसम्म केही चोरी भएको पाइएको छैन। घटनाबारे अनुसन्धान गरिरहेका छौँ।’
प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता बालेन हाल चुनावी अभियानका क्रममा देशको पश्चिमी क्षेत्रमा छन् भने उनकी पत्नी सबिना पनि पतिको निर्वाचन क्षेत्र झापा-५ मा छिन्।
‘प्रहरीलाई आजै बिहान जानकारी आएको हो’, डीएसपी बुढाथोकीले भने, ‘घटना कहिले भएको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।’
बालेनका आफन्तले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको उनले बताए।
Shares

प्रतिक्रिया