राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावी अभियान सकेर आज (शनिबार) काठमाडौँ फर्किएका छन्।
लुम्बिनीपछि सुदूरपश्चिम हुँदै शुक्रबार कर्णाली (दैलेख जिल्ला) आइपुगेका उनी आज (शनिबार) बिहानै सुर्खेत विमानस्थलबाट बुद्ध एयरको विमान चढेर काठमाडौँ फर्किएका हुन्।
चित्त दुखाए दैलेखवासीले
झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार बालेन लुम्बिनी प्रदेशको बाँके जिल्लाका नेपालगन्ज र कोहलपुर तथा बर्दियाका विभिन्न ठाउँ हुँदै सुदूरपश्चिम प्रदेशबाट शुक्रबार दिउँसो करिब १२ बजे कर्णाली प्रदेशको दैलेख जिल्ला आइपुगेका थिए।
जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकाको राकम कर्णालीमा पुगेपछि कालीकोटतर्फ लागेका थिए।
त्यस क्रममा दैलेखका राकम कर्णालीसहित विभिन्न स्थानमा स्थानीयहरू बालेनलाई पर्खेर बसेका थिए।
तर उनी समय अभाव भन्दै उनी राकम कर्णालीमा नरोकिई दुल्लु नगरपालिकास्थित पार्टी कार्यालय पुगे। पार्टी कार्यालय उद्घाटन गरेलगत्तै सुर्खेत झरे।
यसैबिच बालेनलाई भेट्न भनेर चामुण्डाको जम्बुकाँधमा दिनभर कुरेर बसेका स्थानीयले चित्त दुखाएका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखका रास्वपा उम्मेदवारहरूसहित नेता-कार्यकर्ता वरिष्ठ नेता बालेनको स्वागतका लागि ३/४ घण्टा गाडी चढेर राकम कर्णाली पुगेका थिए। तर त्यहाँ बालेन गाडीबाट झरेनन्।
स्वागतका लागि भेला भएका रास्वपा उम्मेदवार तथा समर्थकले गाडीको झ्यालबाटै बालेनको ‘दर्शन’ गरे।

‘यस्तो तरिकाले कहाँ हुन्छ! बिहानदेखि स्थानीयहरू कुरेर बसेका थिए। बालेन आयो गयो,’ एक स्थानीयले भिडिओमा भनेका छन्, ‘यहाँका जनताका कुनै पनि कुरा सुनेनन्।’
एकछिन समय पनि दिन नसक्नेले भोलि प्रधानमन्त्री भएपछि के गर्लान् र भनी स्थानीयले प्रश्न उठाएका छन्।
यसैबिच रास्वपाबाट दैलेख निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार नन्दकिशोर बस्नेतले यस विषयमा माफी मागेका छन्।
‘शुक्रबार बिहानैदेखि हाम्रा वरिष्ठ नेता श्री बालेन शाहको सेड्युलमा परिर्वतन भएको थियो। उहाँसँग आउनुभएको एक जना सदस्य बिरामी परेपछि समयमा फेरबदल हुनपुग्यो’, बस्नेतले भिडिओमा भनेका छन्, ‘मेरो व्यक्तिगत र राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको तर्फबाट माफी माग्न चाहन्छु।’
बस्नेतले थपेका छन्, ‘समय अभावले यसपटक भेट्न सकिएन, अर्कोपटक पार्टी सभापति रवि लामिछानेसँग आएर दैलेखका जनताहरूसँग भेटघाट गर्ने वाचा गर्नुभएको छ।’
शुक्रबार राति करिब ८ बजे दैलेखको दुल्लु नगरपालिका पुगेका बालेन त्यही राति सुर्खेत झरेर सिद्धार्थ होटलमा बास बसे।
अनि आज (शनिबार) बिहान ८ बजे होटलबाट गाडी चढेर वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत दैलेखरोड चोकस्थित पार्टी कार्यालय पुगेर उनले घण्टी बजाउँदै हात हल्लाए।
त्यसपछि सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउतीबज्यै मन्दिरको दर्शन गरेर उनी सुर्खेत विमानस्थल पुगी बुद्ध एयरको विमानबाट काठमाडौँ फर्किएका हुन्।
आज बिहान ११ बजेतिर उनी काठमाडौँ ओर्लिसकेका छन्।
Shares

प्रतिक्रिया