नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व) का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे।
पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको स्मरण गरे।
चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ।
संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे।
राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको प्रचण्डले दाबी गरे।
उनले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेद्वार बनेको बताए।
उनले भने, ‘रुकुम पूर्वको विशेषता के छ भने पूर्वी रुकम नै त्यस्तो जिल्ला हो, जहाँबाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो्। रुकुमको चुनवाङ बैठक। तपाईं हामी सबैलाई गर्व छ, चुनवाङप्रति। त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले।’
रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उनको भनाई छ।
हाल देश जेन—जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाई छ।
संयोजक दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गरे। यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताए।
Shares

प्रतिक्रिया