राजनीति


कांग्रेस एक बनाउन गगनको ८ बुँदे प्रस्ताव, पूर्णबहादुरले फर्काए ६ बुँदे जवाफ

२ मुद्दामा मतभेद बाँकी
कांग्रेस एक बनाउन गगनको ८ बुँदे प्रस्ताव, पूर्णबहादुरले फर्काए ६ बुँदे जवाफ

लोकेन्द्र भट्ट
जेठ २०, २०८३ बुधबार २१:३२, काठमाडौँ

नेपाली कांग्रेसमा आन्तरिक विवाद मिलाउन संस्थापन र इतर पक्षबिच प्रस्ताव आदानप्रदान भएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीमा एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षलाई ८ बुँदे प्रस्ताव पठाएका छन्। 

सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। 

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले नियमित महाधिवेशनको पक्षमा उभिएका नेतालाई समेट्ने कोसिस थालेका हुन्। सभापति थापाले वैशाख ६ गते खड्कालाई पहिलो पटक भेटेका थिए। यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबिच भेटवार्ता भएको थियो।

वैशाख २२ मा सभापति थापाले नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबिच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो। त्यसको दोस्रो दिन सभापति थापा उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर खड्का निवास गोल्फुटार पुगेका थिए। त्यसपछि कांग्रेसमा औपचारिक रुपमा संवाद हुन सकेको थिएन। 

सभापति थापाले केन्द्रीय सदस्य र भ्रातृ संस्था नेविसंघ, तरुण दल र महिला संघको अध्यक्ष मनोनयन गर्दा आफूहरूसँग परामर्श नगरेकोमा खड्का र कोइरालाको असन्तुष्टि थियो। यसबिचमा संस्थापन र इतर पक्षबिच प्रदेशस्तरीय भेलाको प्रतिस्पर्धा चल्यो। दुवै पक्षले प्रदेशस्तरीय भेला सकिएपछि पुन संवाद सुुरु गरेका छन्।

जेठ १६ मा गृहजिल्ला सुर्खेतबाट फर्किएका खड्कासँग सभापति थापा र उपसभापति शर्माले कुराकानी गरेका थिए। त्यसपछि सभापति थापाले विवाद समाधानका लागि जेठ १७ मा ८ बुँदे प्रस्ताव नेता खड्कालाई पठाएका छन्। पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको सन्देशसहित सबैको साथ सहयोग चाहिएको सभापति थापाको प्रस्तावमा उल्लेख छ।

विशेष महाधिवेशनमा टेकेर २ जना (पूर्णबहादुर खड्का र शेखर कोइराला)लाई वरिष्ठ नेता र केही केन्द्रीय सदस्य बनाउने थापाको प्रस्ताव छ। १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएकाहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति सदस्यमा मनोनीत गरिने अर्काे प्रस्ताव छ।

यस्तै, आपसी सहमति (इतर पक्षको सिफारिस)मा निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान संशोधन समितिमा सदस्य थप्न सकिने थापाको प्रस्ताव छ। 

सभापति थापा महाधिवेशनसँग सम्बन्धित समिति र विधान संशोधन समितिमा इतर पक्षले बहुमत खोजे पनि दिन तयार देखिएका छन्।

कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले पार्टी एकताबद्ध बनाउन सभापति थापा हदैसम्मको लचक देखिएको बताए। 

‘विशेष महाधिवेशनमा टेकेर हदैसम्मको लचिलो हुन सभापतिजी तयार हुनुहुन्छ। विभिन्न समितिमाहरूमा उहाँहरूलाई बहुमत चाहिए त्यो पनि दिन हामी तयार छौँ,’ उनले भने। 

सभापति थापाको प्रस्तावपछि नेता खड्का र कोइरालाबिच मंगलबार छलफल भएको थियो। कांग्रेस नेता रामहरि खतिवडाका अनुसार खड्काले सभापति थापालाई ६ बुँदे जवाफी प्रस्ताव पठाएका छन्। १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर निर्वाचन आयोजक समिति बनाउनुपर्ने खड्काको प्रस्ताव छ। समिति मर्ज गरेर निर्वाचन आयोजक समिति बनाउँदा संस्थापन पक्षको बहुमत रहने गरी कार्यसम्पादन समिति संरचना बनाउन सकिने अर्काे प्रस्ताव छ। 

खड्काको जवाफी प्रस्तावमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने उल्लेख छ। 

१४औँ महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने खड्काको मत छ। 

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान संशोधन समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्नुपर्ने खड्काको प्रस्ताव छ। यस्तै भ्रातृ संस्थाका नयाँ कार्यसमिति सहअस्तित्वका आधारमा गठन हुनुपर्ने खड्काको प्रस्ताव छ। 

खड्काले पठाएको जवाफी प्रस्तावमा मुख्यतः दुई वटा बुँदामा मतभेद देखिन्छ। सभापति थापा १४ औंँ महाधिवेशनको कार्यसमिति मर्ज नगर्नेगरी प्रस्तुत भएका छन् भने क्रियाशील सदस्यता अद्यावधिकलाई प्रतिष्ठाको विषय बनाएको देखिन्छ। यता इतर पक्षले दुई वटा कार्यसमिति मर्जरलाई बटमलाइन बनाएको छ। नेताहरूका अनुसार क्रियाशील अद्यावधिकको विषयमा दुवै पक्ष सहमतिमा पुग्न समस्या छैन।

कांग्रेसको १४ औँ महाधिवेशनका साढे ८ लाख क्रियाशील सदस्यमध्ये सदस्यता अद्यावधिक अभियानमा अहिलेसम्म करिब २ लाख सदस्य जोडिएको अवस्था छ। पार्टी विवाद मिलाउन क्रियाशील सदस्यता अद्यावधिकको विषय बाधक नभएको सहमहामन्त्री योगेन्द्र चौधरी बताउँछन्। 

‘क्रियाशील सदस्यता अद्यावधिकको विषय पार्टी एकताको बाधक होइन। यसलाई मिलाएर जान सभापतिज्यू तयार हुनुहुन्छ,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य समेत रहका उनले भने, ‘बाँकी कुरा मिल्दा यसको मतभेद पनि मिल्छ। पार्टीलाई प्रविधिमैत्री बनाउने जोड मात्र हो।’

विशेष महाधिवेशनबाट पारित नयाँ विधानमा २२७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्थाले विवाद मिलाउन सहज हुने संस्थापन पक्षको बुझाइ छ। कांग्रेसमा ८ जना सहमहामन्त्री रहँदै आएकोमा विशेष महाधिवेशनबाट तीन जना सहमहामन्त्री थप हुने व्यवस्था गरिएको छ। विधान संशोधन गरेर १४ सदस्यीय पदाधिकारीलाई १७ सदस्यीय बनाइएको छ। विशेष महाधिवेशनबाट १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो भने सभापति थापाले जेठ २ मा १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। संस्थापन पक्षले देउवा पक्षका ११ जना, शेखर पक्षका ७ जना र शशांक पक्षका १ जना केन्द्रीय सदस्यमा मनोनीत गरेको देखिन्छ। 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पदेन सदस्यका रूपमा रहेका छन्। केन्द्रीय समितिमा अहिले १५४ जना सदस्य छन्। सभापति थापाले ७३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कोषाध्यक्षमा देउवा पक्षका उमेश श्रेष्ठ मनोनीत भइसकेका छ भने संस्थापन इतरबाट तीन जनालाई सहमहामन्त्रीमा मनोनीत गर्न सभापति थापा तयार छन्। 

यस्तै मनोनीत गर्न बाँकी ७३ केन्द्रीय सदस्यमा देउवा र कोइराला पक्षका गरी ६० जनालाई केन्द्रीय समितिमा ल्याउन सभापति थापा सकारात्मक छन्। वरिष्ठ नेताको हैसियत स्वीकार गरेर आउँदा खड्का र कोइरालाले सभापति थापापछिको वरीयता पाउने नेताहरू बताउँछन्। कांग्रेसमा पूर्वपदाधिकारीलाई वर्तमान पदाधिकारीपछि राखिने अभ्यास छ। पछिल्लो मनोनीतमा पनि उक्त अभ्यास गरिएको देखिन्छ। 

सहमहामन्त्री राणा पार्टीलाई एकताबद्ध बनाउन विधानले बाधा पुग्ने देखिए बाधा अड्काउ फुकाउको बाटोमा जान सकिने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad