राजनीति


प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले

प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले

नेपालखबर
जेठ २०, २०८३ बुधबार १९:२४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण नदिने भएका छन्।

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिन संसद्मा नआउने बताएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण नदिने भएका छन्। राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिन संसद्मा नआउने बताएका हुन्। 

प्रधानमन्त्री शाहले नेपालको सीमाबारे संसद्मा दिएको अभिव्यक्ति विवादित बनेको छ। यही विषयमा प्रस्टीकरणसहित माफी माग्नुपर्ने भन्दै राष्ट्रिय सभाको बैठक केही दिन यता अवरुद्ध बनेको छ। 

सोही बैठक खुलाउने विषयमा भएको तीन दलको छलफलमा अर्थमन्त्रीले प्रधानमन्त्री संसद्मा आएर माफी नमाग्ने भएकाले बैठक सञ्चालन गर्न भनेका थिए। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री संसद्मा भनाइ सच्याउन नआउने जानकारी अर्थमन्त्रीले गराएको बताए। 

‘हामीले प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ भन्यौँ तर अर्थमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा परराष्ट्र मन्त्रालयले स्पष्ट गरिसकेको छ, प्रधानमन्त्री माफी माग्न आउनुहुन्न भन्नुभयो,’ सुवेदीले नेपालखबरसँग भने, ‘उहाँको जोड संसद् चलाऔँ भन्नेमा थियो।’
तर कांग्रेस, एमाले र नेकपाले अर्थमन्त्रीको भनाइलाई विश्वास गर्न नसकिने भन्दै प्रधानमन्त्री नै आएर आफ्नो अभिव्यक्ति सच्याउँदै फिर्ता लिनुपर्ने अडान राखेका थिए। 

त्यसपछि अर्थमन्त्रीले बैठक चल्न नदिने हो भने आफूहरूले प्रतिनिधिसभाबाट बजेट पास गर्ने बताएर निस्किए। 

‘बजेट पास गर्ने हो, प्रतिनिधिसभाबाट बहुमतबाटै पास गराउँछौँ। राष्ट्रिय सभाले जेसुकै गर्नुस् भन्ने आसयको अभिव्यक्ति अर्थमन्त्रीले दिनुभयो,’ सुवेदीले थपे। 

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूलाई प्रश्न गर्न लगाएर प्रधानमन्त्री शाहले त्यसको जवाफ दिने क्रममा नेपाल भारत सीमा सम्बन्धी दिएको जवाफ विवादमा परेको थियो।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक एवम् महासचिव आरेन राईले सोधेको प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्रीले भनेका थिए, ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले  पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खरै थाहा पायौँ। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नुभएको छ के छ, त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौँ।’

उनको यो अभिव्यक्तिपछि प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad