राजनीति


राष्ट्रियसभाका १७ सिटमा आज निर्वाचन: यी हुन् कार्यकाल सकिन लागेका १९ सांसद

राष्ट्रियसभाका १७ सिटमा आज निर्वाचन: यी हुन् कार्यकाल सकिन लागेका १९ सांसद

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८२ आइतबार ६:४०, काठमाडौँ

राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सिटमध्ये आज १७ सिटका लागि मतदान हुँदैछ। 

आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ मध्ये १७ पदका लागि आज मतदान हुन लागेको हो। 

रिक्त हुन लागेको कोसीको १ सिटका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्। 

आज निर्वाचन हुन लागेका पदमा गएको पुस २३ गते उम्मेदवारी दर्ता भएको थियो।  राष्ट्रियसभाका रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। 

निर्वाचनको लागि सबै प्रदेशका राजधानीमा मतदानस्थल निर्धारण गरिएको छ।  

 राष्ट्रियसभा निर्वाचनमा कांगेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालले गठबन्धन गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने एक्लै प्रतिस्पर्धा गर्दैछ। 

रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाले भागबण्डा गरेका छन्। 

आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिँदैछ। 

कार्यकाल सकिन लागेका नेकपाका नेता नारायणकाजी श्रेष्ठ पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।  प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा १६ र स्थानीय तहका ११ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।

कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका  गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्। 

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

राष्ट्रियसभाका ५९ मध्ये १७ सदस्यका लागि आज निर्वाचन हुन लागेको हो। कार्यकाल सकिन लागेका सांसदमा कांग्रेसका एकजना पनि छैनन्।

तर, कांग्रेस अहिले मतभारमा सबैभन्दा अगाडि छ। राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। 

२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यको कार्यकाल एक महिनापछि सकिन लागेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad