प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता भएको हो। शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
आधा घण्टा चलेको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्।
त्यस्तै, जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।
भेटका क्रममा अध्यक्ष कान्दाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने उनले बताए।
अध्यक्ष कान्दाले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याएका छन्। नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया