राजनीति


नयाँ पार्टी बनाउन कांग्रेसका ‘६ ब्रान्ड’ तयार, राष्ट्रिय भेलाबाट नेतृत्वमा शेखर कि शशांक

नयाँ पार्टी बनाउन कांग्रेसका ‘६ ब्रान्ड’ तयार, राष्ट्रिय भेलाबाट नेतृत्वमा शेखर कि शशांक

लोकेन्द्र भट्ट
असार २२, २०८३ सोमबार १४:४८, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष औपचारिक रुपमा नयाँ पार्टी गठनको दिशामा अगाडि बढेको छ। काठमाडौँको चुनदेवीस्थित ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’मा आज बसिरहेको इतर पक्षका नेताहरूको बैठकले राष्ट्रिय भेलाको तिथिमिति तय गर्दै छ।

नयाँ पार्टी गठनमा शीर्ष नेता सहमत भएपछि राष्ट्रिय भेला बोलाउन लागिएको इतर पक्षका नेताहरूले बताएका छन्। असार १९ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको इतर पक्षका शीर्ष नेताको बैठकमा राष्ट्रिय भेलाको रणनीति र उद्देश्य तय भएको थियो। नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत नयाँ पार्टी गठन गरेर जानेमा सहमत भएका थिए।

खड्काले नयाँ पार्टी गठनको विषयमा खुलेर कुरा नगरे पनि राष्ट्रिय भेला बोलाएपछि उनी भाग्ने ठाउँ नरहेको नेताहरू बताउँछन्। असार १९ को छलफलमा सिटौलाले कांग्रेसको ‘ब्रान्ड’ बोकेका नेताहरू इतर पक्षमा रहेको भन्दै नयाँ पार्टी गठनको निर्णय भए साथमा उभिने बताए।

‘अहिले हामी यहाँ कांग्रेसको सबै ब्रान्ड सहभागी छौँ। हामी नै कांग्रेस हो,’ सिटौलाले बैठकमा नेताहरू देखाउँदै भनेका थिए, ‘बीपी ब्रान्ड (शशांक कोइराला), किसुनजी (कृष्णप्रसाद भट्टराई) ब्रान्ड (पूर्णबहादुर खड्का), गणेशमान सिंह ब्रान्ड (प्रकाशमान सिंह), महेन्द्रनारायण निधि ब्रान्ड (विमलेन्द्र निधि) र शेरबहादुर देउवा ब्रान्ड (प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक) ले गर्ने निर्णयमा मेरो साथ र समर्थन हुन्छ। जे निर्णय लिने हो चाँडो लिनुपर्‍यो।’ 

डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको ‘ब्रान्ड’का रुपमा अथ्र्याएका सिटौलाले नयाँ पार्टीमा आफू नेतृत्वको आकांक्षी नभएको पनि बताएका थिए। ‘६ वटा ब्रान्डमध्येबाटै नेतृत्व तय गरौँ। म नेतृत्वको दौडमा छैन। तपाईहरू जो आउनुहुन्छ। मेरो साथ सहयोग रहन्छ,’ उनको भनाइ थियो। 

यस्तै राष्ट्रिय भेला बोलाएर नयाँ पार्टी गठनमा थप ढिलाइ गर्न नहुनेमा निधि र सिंहको पनि जोड थियो। पार्टी सभापति गगन थापा एकताको पक्षमा नदेखिएको निष्कर्ष सुनाउँदै नेताहरू महत, साउद र लेखकले राष्ट्रिय भेलाको गन्तव्य प्रष्ट पारेर जानुपर्ने मत राखेका थिए। 

‘मैले पटकपटक भेटेँ। सुरुमा उहाँ एकताका लागि गम्भीर देखिनु भएको थियो। पछिल्लो समय विभिन्न विषयमा बाहना झिक्न थाल्नुभयो,’ बैठकमा लेखकको भनाइ थियो, ‘उहाँलाई कांग्रेस एक नबनाउन दबाब छ जस्तो देखियो। कि अब सबै सानेपामा आयौँ भनेर आत्मसमर्पण गरौँ, होइन भने फरक ढंगले सोचेर अगाडि बढौँ।’

२०५९ सालमा शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन हुँदा साथ दिएका महत, साउद र लेखकले अहिले नयाँ पार्टी बनाउन कुनै समस्या नहुने बताएका बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए। इतर पक्षको बैठकमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत भेट वार्तामा भएको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए। त्यसपछि नेताहरू राष्ट्रिय भेला बोलाउन सहमत भएको कांग्रेस नेता मीन विश्वकर्माले बताए। 

‘गगनजीलाई पार्टी मिलाउनु नै छैन। गगनजीले चाहँदा पनि विश्वले भाँजो हाल्ने काम गरिहाल्छन्। बाँकी नेताहरूसँग कुराकानी गर्नु को अर्थ नै छैन,’ नेता विश्वकर्माले भने, ‘अब पार्टी नमिल्ने जस्तो देखियो।’

बीपी स्मृति दिवसमा १६५ क्षेत्रमा पुग्ने
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसको अवसरमा साउन ६ मा इतर पक्षले १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउन लागेको एक शीर्ष नेताले नेपालखबरलाई बताए। 

‘१६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर बीपी स्मृति बनाउने तयारी छ। त्यसलाई नयाँ पार्टी निर्माणको आधार बनाउने गरी अगाडि बढ्ने सहमति भएको छ। हाम्रो अभियानमा जोडिन साथीहरूसँग १६५ निर्वाचन क्षेत्रमै पुगेर सल्लाह र परामर्श गर्छौँ,’ उनले भने।

ती नेताका अनुसार राष्ट्रिय भेला आह्वान गरिसकेपछि सबै शीर्ष नेता आ–आफ्नो प्रदेशमा खट्ने तयारी छ। ‘राष्ट्रिय भेलामा बढीभन्दा बढी मानिस सहभागी गराउने प्रयास हुन्छ। उहाँहरूलाई हाम्रो दिशा र गन्तव्य प्रष्ट पार्नुपर्छ,’ उनले भने, ‘हामीहरू आफै मैदानमा खटेर साथीहरूलाई कन्भेन्स गर्दै गएमा धेरैले मान्नुहुन्छ।’

चुनाव चिह्न ‘शंख’बारे छलफल
ती नेताका अनुसार नयाँ बन्ने पार्टीको नाम राष्ट्रिय कांग्रेस र चुनाव चिह्न शंख नै राखेर जाने विषयमा छलफल भएको छ। ‘नयाँ पार्टी बन्दा कांग्रेस नाम नछोड्ने कुरा भएको छ। सम्भवत राष्ट्रिय कांग्रेस नाम रहन सक्छ। चुनाव चिह्न पनि शंख राख्ने विषयमा नै कुराकानी भइरहेको छ,’ उनले भने। 

कांग्रेसको १५औं महाधिवेशन, स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गरी पार्टी निर्माणमा जुटेको देखिन्छ। नयाँ बन्ने पाटीको नेतृत्वमा डा. शेखर कोइराला वा डा. शशांक कोइरालालाई उभ्याउने देउवा पक्षको रणनीति देखिन्छ। नेतृत्व लिनका लागि डा. शशांक सकारात्मक देखिएका छन् भने डा. शेखरसँग संवाद भइरहेको देउवा पक्षका नेताहरूको भनाइ छ। नयाँ पार्टीको पदाधिकारीमा युवालाई ल्याउने तयारी छ।

‘नेतृत्व एक जना अनुभवी नेताको हुन्छ। बाँकी पदाधिकारीमा युवालाई ल्याउने छलफल भएको छ,’ एक शीर्ष नेताले भने, ‘हामी विभिन्न विभागको जिम्मेवारी सम्हालेर बस्छौं। पार्टीमा युवालाई चलाउन दिन्छौँ। हामी सहयोग गर्छौँ।’ 

कांग्रेस इतर पक्षको कदमलाई नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वले पनि नजिकबाट हेरेको छ। 

भदौ २३ र २४ को घटनालाई हेर्ने दृष्टिकोण एमाले, नेकपा र नयाँ बन्ने पार्टीको एउटै हुनेछ। आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धनको आधार खडा गरेर जाने विषयमा कांग्रेस इतर पक्षले एमाले र नेकपाको नेतृत्वसँग छलफल गरिरहेको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले विराटनगर पुगेर शेखर कोइरालाई भेटेका थिए भने देउवा पक्षले उनीहरूसँग छुट्टै भेटवार्ता गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको आन्तरिक मतभेदको विषयमा चासो लिइराखेको बुझिएको छ। इतर पक्षका नेताहरूका अनुसार कांग्रेस विभाजित भइ बन्ने नयाँ पार्टीसँग सहकार्य गर्न र सदभाव राखेर अगाडि बढ्न ओली र प्रचण्ड सकारात्मक देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad