पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए। हाल निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुलहरू ‘डिजाइन एन्ढ बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको उनले जानकारी दिए।
‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ,’ मन्त्री लम्सालले भने, ‘यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ।’
मन्त्री लम्सालले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने बताए। पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जाने उनको भनाइ थियो।
मुगुलगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेन्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिए। सडक दुर्घटना न्युनिकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताए।
‘पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ,’ उनले भने।
यसका साथै, उत्तरी सीमा (चीनको सीमाना) सम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उनको भनाइ थियो। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस सडक खण्डलाई सीमासम्मै पु¥याउने गरी काम अगाडि बढाइने मन्त्री लम्सालले बताए। स्थलगत निरीक्षणबाट फर्केपछि सडक र पुलको थप विस्तृत विवरण सदनमा पेश गर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया