भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई अपहरण गर्ने बेला अमेरकाको सर्त मानेका कारण मन्त्रीहरूको ज्यान बचेको खुलासा भएको छ।
यस विषयमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको भिडिओ लिक भएको हो।
द गार्जियनका अनुसार रोड्रिगेजले भिडिओमा भनेकी छन्, 'जब अमेरिकाले तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्यो, तब म र मन्त्रिपरिषद्का सदस्यहरूलाई आत्मसमर्पण गर्न केवल १५ मिनेट दिइयो। र, भनियो- अन्यथा सबैलाई गोली हानिनेछ।'
यो कुरा अमेरिकाले सैन्य हमला गरेको सात दिनपछि भेनेजुएलामा भएको लगभग दुई घण्टाको बैठकको लिक भएको रेकर्डिङबाट खुलासा भएको हो।
भिडिओ पहिलोपटक स्थानीय पत्रकार समूह ला होरा डे भेनेजुएलाले सार्वजनिक गरेको थियो।
यो बैठक भिडिओ कन्फरेन्सिङ प्लाटफर्ममा रेकर्ड गरिएको देखिन्छ। जसमा रोड्रिगेजले सरकार समर्थक इन्फ्लुएन्सरसामु आफ्ना तर्क प्रस्तुत गरिरहेकी छन्। यस क्रममा केही मानिस कोठामा थिए, जसमध्ये अनलाइनमा जोडिएका थिए। रेकर्डिङ कसरी चुहावट भयो भन्ने कुरा स्पष्ट छैन।
यही जनवरी ३ मा अमेरिकाले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति मदुरोको दम्पतीलाई नै पक्राउ गरेको थियो। हाल उनीहरू न्युयोर्कको हिरासतमा छन्। त्यहाँको अदालतमा उनीहरूविरुद्ध हतियार र लागुऔषध तस्करीको अभियोगमा मुद्दा चलाइएको छ।
Shares

प्रतिक्रिया