फागुन २१ गतेको लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनको ‘हट जोन’मा पर्छ–बारा क्षेत्र नम्बर ४। व्यक्तिकै प्रभावले चुनाव जित्ने गरेको सो क्षेत्रमा यसपटक नतिजा आफूतिर ढल्काउन उम्मेदवारहरूले जोडबल लगाइरहेका छन्।
२०७९ को चुनाव तनहुँबाट आएका किसान श्रेष्ठले जितेका थिए। यसपटक फेरि जित्न उनले यो क्षेत्रमा घरघडेरी नै किनेका छन्। उनलाई रोक्न नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लागेकै छन्।
स्थानीयहरूका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सो क्षेत्रको राजनीतिक परिदृश्य बदलिएको छ।
८ वर्षपछि पहिलो पटक रुख चिन्हबाट उम्मेदवारी नपरेको, गत निर्वाचन जितेका उम्मेदवारले दल परिवर्तन गरेको र नयाँ दलप्रति आकर्षण बढेको लगायत कारणले बारा ४ मा यस पटक प्रतिस्पर्धा रोचक र नाटकीय हुनसक्ने स्थानीयको भनाइ छ। तर, कुनै समय एमालेमा रहेका पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि यही क्षेत्रबाट चुनाव लड्दै छन्। यद्यपि अहिले उनी एमाले छाडेर समुन्नत नेपाल पार्टीका सभापति छन्। उनको उपस्थितिले मतदातामा अहिलेसम्म लहर ल्याउन नसकेको स्थानीयको भनाइ छ।
यहाँ पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास छ। तर यहाँ समुदायगत विभाजन भने छैन।
नेकपा एमाले र काग्रेसको संगठन बलियो रहेको जानकारहरू बताउँछन्। तर, जेनजी आन्दोलन र सिमरा घटनापछि उनीहरूको क्रेज छैन।
मतदाता एसएस पटेलका अनुसार बालेनलाई प्रधानमन्त्री बनाउनका लागि पनि रास्वपामा भोट हाल्नु पर्छ भन्ने युवाहरु बढ्न थालेका छन्। बालेन र रवि लामिछाने बारा आउने निश्चित भएपछि माहोल झनै तात्तिएको उनी बताउँछन्।
तीन जनाबीच प्रतिस्पर्धा
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, लोसपासँगको गठबन्धनबाट एकीकृत समाजवादीको कलम चिन्हबाट किसान श्रेष्ठ निर्वाचित भएका थिए। ३० हजार ३४१ मत ल्याएका उनले एमालेका एकवाल मियाँलाई २० हजार ३३६ मतमा रोके।
यसपटक श्रेष्ठ फेरि मैदानमा छन्। तनहुँबाट बसाइँसराइ गरेर उनी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा बस्न थालेका छन्। मतदाता नामावली समेत सोही क्षेत्रमा सारेका छन्।
तर, उनी यसपटक आफैँले हराएको दल एमालेबाट उम्मेदवार बनेका छन्। जुन उनको लागि अवसरका साथै चुनौती पनि हो।
‘बारा, मधेसका जनताको अपार मायाले १० हजारले निर्वाचन जितेको हो। म अहिले पनि तनहुँ जान सक्थेँ। यहाँको जनताको मायालाई विश्वासघात गर्नु हुँदैन भनेर पुनः उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले नेपालखबरसँग भने।
श्रेष्ठलाई कांग्रेसका श्यामबाबु पटेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारीले चुनौती दिँदैछन्।
यद्यपि, एमालेका प्रभावशाली एकवाल मियाँको साथले श्रेष्ठ उत्साहित छन्। तर, उनलाई रोक्नको लागि कांग्रेसको रणनीति बेग्लै छ। उम्मेदवार रहेका श्यामबाबु गुप्ताले विगतमा गठबन्धका कारण रुख चिन्हमा निर्वाचन लड्न नपाएको भन्दै यसपटक पार्टीमा मत दिन पाइने उत्साह भएको बताए।
आफू स्थानीय भएकोले मतदाताले साथ दिनेमा उनी आशावादी देखिन्छन्।
‘१० वर्षदेखि यहाँको जनताले रुख चिह्नमा भोट हाल्न पाएका छैनन्। यो पटक रुखबाट उम्मेदवार खडा हुँदा जनता उत्साहित छन्,’ गुप्ताले नेपालखबरसँग भने।
यस्तै, छिमेकी जिल्ला पर्सा १ क मा तत्कालीन नेकपा माओवादीबाट प्रदेश सभाको निर्वाचन जितेका रहबर अन्सारी यसपटक बारा ४ आएका छन्।
अन्सारी वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का स्थायी बासिन्दा भए पनि बाराको क्षेत्र नम्बर ४ सँग जोडिएको छ। यहाँ मुस्लिमको बाहुल्यता छ। बारा ४ मा २०७९ अघिसम्म मुस्लिम समुदायमै उम्मेदवार जितेको देखेर अन्सारी आएको कतिपय बताउँछन्।
त्यसबाहेक गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले ३ हजार ८ सय ८४ मत ल्याएकाले पनि यो क्षेत्रमा रास्वपाबाट आफूहरूलाई सहज भएको अन्सारीको सचिवालयका सदस्य इमरान अन्सारीले बताए।
‘अहिलेको अवस्था हेर्दा रास्वपाको प्रतिस्पर्धी कोही पनि छैन,’ उनले भने, ‘अहिले देशभर नै घण्टीमय छ। बालेनको नेतृत्वमा सरकारमा जाने घोषणा सहित अघि बढेका छौँ। जनता जागिसकेका छन्। बालेनलाई प्रधानमन्त्री बनाउन चुपचाप घण्टी चिह्नमा मत जान्छ।’
उनले दुई हप्तामा रास्वपाको माहोल बढेको बताए।
‘बालेन र रवि लामिछाने बारा आउने निश्चित भएको छ। त्यसपछि थप माहोल बढ्छ, बलियो हुन्छ,’ उनले दाबी गरे।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाह पनि उम्मेदवार छन्। बास्केटबल खेलाडी उनी हाल २७ वर्षका भए।
जेनजी आन्दोलनमा सहभागी कुशवाहका बुबा रामचन्द्र प्यासी एमालेका पुराना नेता थिए। एमाले छोडेर उनी नेकपा प्रवेश गरेका हुन्। बारा क्षेत्र नम्बर ४ मा प्यासीको प्रभाव राम्रो मानिन्छ।
बुवाको कारण र जेनजी मुभमेन्टमा सहभागी भएकाले अजय कुशवाहले नसोचेको मत ल्याउने मतदाता विदुर खड्का बताउँछन्।
३९ जना प्रतिस्पर्धामा
बारा ४ मा २० राजनीतिक दल तथा १९ स्वतन्त्र उम्मेदवार गरी ३९ जना सिंहदरबारको यात्राका लागि प्रतिस्पर्धामा छन्। प्रलोपाका अवधिकिशोर कुशवाह, जनता समाजवादी पार्टीका सन्जु साह कानु, जनमत पार्टीका हसनजान मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिपकुमार नेपाल, आम जनता पार्टीका उमेशकुमार कुशवाह, श्रम संस्कृति पार्टीका गोपालकुमार खत्री, नेपाल लोकतान्त्रिक पार्टीका सुरेश प्रसाद, उज्यालो नेपाल पार्टीका सन्तोषकुमार गुप्ताको उम्मेदवारी परेको छ।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका सुब्बालाल तामाङ, राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याय, संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुन्नी खातुन, राष्ट्रिय एकता दलका विनय यादव, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल र राष्ट्र निर्माण दलका समिम मियाँ अन्सारीको उम्मेदवारी परेको छ।
स्वतन्त्र रुपमा उषा बुढाथोकी, नसिमा खातुन, विमला खतिवडा, असरार आलम ठकुराइ, शम्भु यादव, सञ्जु चौधरी, भोला मियाँ, मंगेश्वर पटेल, भेखनारायण साह, वैधनाथप्रसाद साह, पूर्णप्रसाद पन्थ, दीपकसिंह चौधरी, मुकेशकुमार रौनियार, मोहन चौलागाईं, राजदेव राम, सन्दीप यादव, धीरेन्द्र चौधरी, निराजनकुमार, साकिब आलम मन्सुरीले दर्ता गराएका छन्।
Shares

प्रतिक्रिया