परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नयाँ र बहुआयामिक सहकार्य स्थापिन गरिने बताएका छन्।
भारत भ्रमणमा रहेका खनालले भारतीय सञ्चारमाध्यम ‘एनडीटीभी’सँगको अन्तर्वार्तामा नेपाल र भारतको सम्बन्ध नयाँ शिराबाट अगाडि बढ्ने बताएका हुन्। दुई देशको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको उनको भनाइ छ।
परराष्ट्रमन्त्री खनालले भने, ‘हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको सुनाए। अब दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढ गर्न रास्वपा सरकार तत्पर रहेको उनको भनाइ छ।
उनले नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गरे। दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा खनालले जोड दिए।

यसअघि मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस. जयशंकरसँग भएको भेटको सन्दर्भ उल्लेख गरे। त्यसक्रममा दुवै जनाबीच सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा छलफल भएको बताए।
नेपालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत विभिन्न क्षेत्रमा भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको खनालले सुनाए। त्यस्तै, बंगलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथ पाउने पनि विश्वास व्यक्त गरे।
विगतका नेपाल सरकारले भारत र चीनबाट विकासको लाभ लिन नसकेको उनले औँल्याए।
‘हामीले विगतका कुरा लिएर आएका छैनौँ। विगतमा हामीले दुई ठूला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो, त्यति सकेनौँ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘अब पारस्परिक लाभ, सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौं।’
अन्तर्वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको प्रसंग पनि निकाले। हालै रास्वपा सभापति लामिछानेको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारबाट भएको स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उत्प्रेरणा मिलेको खनालको भनाइ थियो।

रास्वपा सभापति लामिछाने पाँच दिने भारत भ्रमण सकेर शुक्रबार मात्रै नेपाल फर्किएका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकरलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भाजपा अध्यक्ष नितिन नविनसँग भाजपा मुख्यालयमा भेटवार्ता गरेका थिए। त्यसक्रममा लामिछानेको भव्य स्वागत गरिएको थियो।
त्यस्तै, परराष्ट्रमन्त्री खनालले विकास निर्माणका विषयमा भारतसँग चाँडै सहकार्य हुने बताए। विशेष गरेर नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा सहयर्काका लागि सहमति हुने उनको भनाइ थियो।
दुई दिने भ्रमणमा परराष्ट्रमन्त्री खनालले शुक्रबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयसमेत रहेको सेवा तीर्थ भवनमा खनाल र डोभालबीच भेटवार्ता भएको हो। मन्त्री सरहका डोभाल भारतको नेपाल नीति निर्माण र कार्यान्वयनमा निर्णायक मान्छिन्।
त्यस्तै, शनिबार खनालले सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुवै नेताबीच भएको भेटवार्तामा नेपाल र भारतका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा छलफल भएको छ। यससँगै राजनीतिक दल तहमा पनि सम्बन्ध बढाउने विषयमा कुराकानी भएको जनाइएको छ।
Shares

प्रतिक्रिया