राजनीति


सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, बन्नेछन् सम्भावित प्रधानमन्त्रीको उम्मेदवार

सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, बन्नेछन् सम्भावित प्रधानमन्त्रीको उम्मेदवार

नेपालखबर
माघ ९, २०८२ शुक्रबार ८:१८, काठमाडौँ

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक आज (शुक्रबार) पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्दै छ। 

गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्ने भएका हुन्। 

वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो। 

थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्यहीँ राखेको थियो।

त्यही दिन उसले नवनिर्वाचित कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो। 

तर देउवा पक्षले माघ ४ गते दायर गरेको रिट निवेदनमा सर्वोच्चले माघ ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

विवादकै कारण सभापति गगन थापा पक्षले केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा नराखी बाहिर राख्नुपरेको थियो।

विशेष महाधिवेशनबाट चुनिएको भोलिपल्ट उसले पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेम र दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेको थियो।

आज भने गगन नेतृत्वको कांग्रेसले आफ्नै पार्टी कार्यालयमा बैठक राख्ने भएको हो। 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

आजको कांग्रेस बैठक नवनिर्वाचित कार्यसमिति कार्यालय प्रवेशमा मात्र सीमित हुने छैन।

यसले सभापति गगन थापालाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि गर्नेछ। 

‘हामी देशभर नयाँ र नवीन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै छौँ’, शुक्रबार बिहान प्रवक्ता चालिसेले नेपालखबरसँग भने।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेनजी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ।

‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो’, उनले थपे।

यसपटक गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेसको सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन्। यसअघि उनी काठमाडौँ-४ बाट चुनाव लडिरहेका थिए।  

थापा नेतृत्वको कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गरी पदबहाली गर्ने कार्यक्रम समेत छ।

‘आजदेखि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्छ’, प्रवक्ता चालिसेले भने।

यद्यपि देउवा समूहले नवनिर्वाचित कांग्रेस कार्यसमितिलाई अझै पूर्ण रूपमा स्वीकार गरिसकेको छैन।

अत: नवनिर्वाचित कांग्रेस कार्यसमिति पार्टी कार्यालयमा प्रवेशपछि दुई पक्षको द्वन्द्वले कुन मोड लेला, त्यो भने आजको बैठपछि नै थाहा होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad