राजनीति


सर्लाही झरेका गगनले मधेसमा ल्याउन सक्लान् कांग्रेसको लहर?

‘गगन-बालेनले मधेसलाई बहसको मूलधारमा ल्याए, सर्लाही-४ मा गगनले सजिलै जित्छन्’
सर्लाही झरेका गगनले मधेसमा ल्याउन सक्लान् कांग्रेसको लहर?

कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा मधेसमा गगन थापा।


लोकेन्द्र भट्ट
माघ ८, २०८२ बिहिबार १६:४३, काठमाडौँ

मधेस प्रदेशको सर्लाही-४ मा नेपाली कांग्रेस सभापति गगनकुमार थापाको उम्मेदवारी दर्ताले राजनीतिक वृत्तमा बहस गर्माएको छ। गत पुस २७-३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा आगामी फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मधेस झरेका छन्। सर्लाही-४ मा सभापति थापाको उम्मेदवारीले सात प्रदेशमध्ये सबैभन्दा बढी (३२) निर्वाचन क्षेत्र भएको मधेसमा कांग्रेसको पुनरोदय गर्नसक्ने विश्लेषण भइरहेको छ।

नवोदित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुर्ख्यौली घर महोत्तरी भएका काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाएर मधेसबाट चुनावी अभियान थालेको दोस्रो दिनमै कांग्रेस सभापति थापाले सर्लाही-४ मा उम्मेदवारी दिए। यसलाई गगनको रास्वपा लक्षित काउन्टर रणनीतिका रुपमा पनि हेरिएको छ।

रास्वपाले झापा-५ मा उम्मेदवार बनाएका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको छ भने कांग्रेसबाट पनि गगन प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। मधेस मामिलाका जानकार तथा राजनीतिक विश्लेषक तुलानाराण साहका अनुसार सभापति थापाले पार्टीभित्रको आन्तरिक द्वन्द्व सल्टाएर मधेस झरेकाले पनि कांग्रेसलाई लाभ हुनेछ।

‘अहिले अर्को पक्षलाई अन्यायमा पारेको भन्ने म्यासेज छैन कांग्रेसमा। कांग्रेसमा सबैभन्दा ठूलो समस्या पहिले एउटा पक्षले टिकट दिने र अर्को पक्षले अन्तर्घात गर्ने थियो। अहिले त्यो मिलाउनुभएको छ। पार्टी एकताबद्ध देखिन्छ। यसले कांग्रेसलाई राम्रो गर्ने देखिन्छ,’ साह भन्छन्। 

बालेनले मधेसबाट थालेको चुनावी अभियान र गगनको उम्मेदवारीले फागुन २१ को निर्वाचनमा मधेस ‘ब्याटल ग्राउन्ड’ बनेको साहको विश्लेषण छ।  ‘बालेनलाई उतारेर रास्वपाले एउटा तरंग ल्याएको थियो। गगन पनि सर्लाही जानुभयो। यस पटकको निर्वाचनमा मधेस ब्याटल ग्राउन्ड देखियो,’ उनी भन्छन्।

मधेस मामिलाका जानकार तथा राजनीतिक विश्लेषक तुलानाराण साह।

मधेस मामिलका जानकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर गगन र बालेनको चुनावी कदमले लोकतन्त्र सकारात्मक दिशामा गएको बताउँछन्। गणतन्त्रमा देश जोड्ने काम दलहरूले गर्ने भए पनि विगतमा प्रधानमन्त्रीका दाबेदार मानिएका नेताहरू प्राविधिक रुपमा राष्ट्रिय नेता नभई क्षेत्रीय कमान्डरका रुपमा चिनिएको चन्द्रकिशोरको बुझाइ छ।

‘बालेन शाह मधेसी मूलको भए पनि पहाडीहरूको सघन बसोबास भएको झापा पुग्नु भएको छ। गगन मधेसीको बसोबास भएको सर्लाही-४ पुग्नु भएको छ,’ पुस्तैनी गाउँ सर्लाही-४ मै रहेका चन्द्रकिशोर भन्छन्, ‘यसलाई लोकतन्त्र सकारात्मक दिशामा गइराखेको रुपमा बुझेको छु।’

चन्द्रकिशोरका अनुसार स्थानीय भाषा, बुझाइ, संस्कृति र संघर्षको महत्त्व हुने भए पनि अन्तरप्रादेशिक अभ्यासहरूले नेतालाई राष्ट्रिय नेतृत्व बनाउँछ। छिमेकी मुलुक भारतको उदाहरण दिँदै उनी भन्छन् , ‘मोदी गुजरातको ब्रान्ड हुनुहुन्थ्यो। बनारसबाट चुनाव लड्नुभयो। राहुल गान्धी दक्षिण भारतबाट चुनाव लड्नुहुन्छ। यसले नेतृत्वलाई फराकिलो बनाउँछ। संकिर्णताबाट माथि उठाउँछ।’

निर्वाचन क्षेत्र छोड्नेलाई ‘भगौडा’ र नयाँ ठाउँमा जानेलाई ‘बाहिरिया’ उम्मेदवार भनेर कटाक्ष गर्न नहुने उनको भनाइ छ।  ‘चुनाव तर्क, प्रतिबद्धता र पृष्ठभूमिमा हुनुपर्छ। तर, उम्मेदवारले आफ्नो चुनावी क्षेत्रको स्थानीय सरोकार, सम्भावना र सामर्थ्यलाई मुख्य धारामा ल्याउने काम गर्नुपर्छ,’ चन्द्रकिशोर भन्छन्। 

तत्कालीन नेकपा (एमाले)का नेता माधव नेपालले ९८ प्रतिशत मधेसी भएको रौतहट-१ बाट चुनाव लडे पनि मधेसले उन्नत भविष्यका लागि गरिराखेको संघर्ष पहाडमा पुर्‍याउन नसकेको स्मरण उनले गरे। मधेसले सबैले काँचुली फेर्ने संघीयता खोजिरहेको भन्दै उनले नेता नेपालले मधेसको माटोको सुगन्ध फैलाउन नसकेको बताए।

‘पहिले मधेसका कुरा मधेसी दलले मात्र बोल्नुपर्छ भन्ने थियो। मधेसको प्रतिनिधित्व मधेसी दलका नेता मात्रै हुन् भन्ने बुझाइ थियो। यसपटक बालेन र गगनले मधेस साइनो जोड्दा विना कुनै प्रोपागान्डा मधेस मुख्यधाराको बहसमा आइसक्यो,’ उनी भन्छन्, ‘जेनजी आन्दोलनपछि मधेस हराइराखेको थियो। आज कांग्रेस र रास्वपाको प्रयत्नले मधेस बहसमा आइपुगेको छ।’

मधेस मामिलका जानकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर।

चन्द्रकिशोरका अनुसार २००७ सालदेखि कांग्रेसको उर्भर भूमि भए पनि मधेस आन्दोलनपछि उसको आधार क्षेत्र गुम्दै गएको थियो। कांग्रेसमा मधेसी अनुहार निर्णय तहमा कमजोर देखिँदा मुर्झाएको कांग्रेसलाई पुनर्जागृत गर्न गगन मधेसको बाटोमा पुगेको उनको बुझाइ छ।

विश्लेषक साह कांग्रेसको बलियो जनाधार भएको सर्लाही-४ मा गगनलाई चुनाव जित्न पनि खासै समस्या नहुने आकलन गर्छन्। ‘कांग्रेस बलियो भएको निर्वाचन क्षेत्र हो। उहाँ सजिलै जित्नु हुन्छ। २०६४ सालको निर्वाचनपछि मधेसमा कांग्रेसको मतमा सुधार छ। त्यसलाई थप सुधार गर्ने प्रयासस्वरुप मधेस झर्नु भएको हो। उहाँको उम्मेदवारीले कांग्रेसलाई मधेसमा फाइदा हुन्छ होला,’ साह भन्छन्।

...अनि २०७९ सालमा सर्लाही जान रोकिए गगन

काठमाडौँ-४ बाट दुई पटक निर्वाचित थापा २०७९ सालमै सर्लाही-४ जाने तयारीमा थिए। तर, उनको योजना थियो- काठमाडौँ-४ मा अर्थविद् स्वर्णिम वाग्ले (हाल रास्वपा उपसभापति) लाई उम्मेदवार बनाउने। 

तत्कालीन सभापति शेरबहादुर देउवाले वाग्ले उम्मेदवार बन्न चाहेका क्षेत्रहरू चितवन-१ मा अर्थविद् तथा तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, गोरखा-१ मा व्यवसायी राजेन्द्र बजगाईं र काठमाडौँ-५ मा प्रदीप पौडेललाई टिकट थमाए। वाग्ले टिकटबाट बञ्चित हुने अवस्था बनेपछि तत्कालीन महामन्त्री थापाले काठमाडौँ-४ वाग्लेलाई छोडेर सर्लाही-४ जाने सोच बनाए। 

थापाले सर्लाही-४ जाने सोच बनाएको चाल पाएपछि देउवाले तत्कालीन केन्द्रीय सदस्य नैनसिंह महरलाई २०७९ असोज २३ को बिहानै काठमाडौँ-४ को टिकट थमाए। आफ्नो योजनामा ब्रेक लागेको थाहा पाएपछि सर्लाही-४ मा उम्मेदवारी दर्ताका लागि जान हेलिकप्टर बुक गरिसकेका थापा काठमाडौँ-४ कै टिकट लिन बालुवाटार हानिए। थापा बालुवाटर पुग्दा नैनसिंहले टिकट लिइसकेका थिए।

मधेसमा गगन थापा।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले महरलाई फोन गरेर उम्मेदवारी दर्ता नगराउन भन्दै बालुवाटार बोलाए। त्यसपछि दुई पटक चुनाव जितेका गगन फेरि काठमाडौँ-४ मै उम्मेदवार बने।

काठमाडौँ-४ को टिकट खोसिएका नैनसिंहलाई काठमाडौँ-३ मा उम्मेदवार बनाउने छलफल भएको थियो। तर, नेता प्रकाशमान सिंह र थापाले सन्तोष चालिसेलाई टिकट दिन दबाब बढाएपछि उनी उम्मेदवार बन्न बञ्चित भए। २०७९ साल निर्वाचनमा थापाले काठमाडौँ-४ मा ह्याट्रिक गरेका थिए। यसपटक आफै निकट बाँड्ने ठाउँमा पुगेपछि थापाले काठमाडौँ-४ मा युवा नेता सचिन तिमल्सिनालाई टिकट दिएका छन्।

जितको इतिहास र अंकगणित

सर्लाही-४ मा २०४८ सालदेखि अहिलेसम्म कांग्रेसबाहेकका उम्मेदवारले दुई पटक मात्रै जितेका छन्। २०४८, २०५१ र २०५६ सालमा सर्लाही-४ बाट कांग्रेसका तत्कालीन नेता तथा हाल जसपाका संरक्षक महन्थ ठाकुरले जितेका थिए। २०६४ सालको चुनावमा मधेसी जनअधिकार फोरमका शिवपुजन यादवले चुनाव जिते भने २०७० देखि २०७९ सालसम्म डा. अमरेशकुमार सिंहको दबदबा रह्यो। २०७० र २०७४ सालमा कांग्रेसकै उम्मेदवारका रुपमा बाजी मारेका सिंहले २०७९ सालमा स्वतन्त्र उम्मेदवारी दिँदा पनि अपराजित यात्रा कायमै राखे।

कांग्रेसले २०७९ सालमा नागेन्द्र कुमारलाई टिकट दिएपछि सिंहले विद्रोह गरेका थिए। सिंहले २० हजार १७ मत ल्याएर ह्याट्रिक गर्दा कांग्रेसका नागेन्द्र कुमार १८ हजार २५३ मतमा सीमित हुन पुगे। कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेदवार नागेन्द्र कुमारलाई सिंहले १ हजार ७६४ मतान्तरले पराजित गरेका थिए।

स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६ सय २२ मत प्राप्त गरेर तेस्रो स्थानमा आएकी थिइन्। जसपाका राकेशकुमार मिश्रले ५ हजार ८ सय १३, बहुजन एकता पार्टीका राजाराम पासवानले ५ हजार एक सय ५८ र जनमत पार्टीका रामबाबु रायले तीन हजार ४ सय २९ मत प्राप्त गरेका थिए। यस्तै राप्रपाका महेश महतोले ५ सय ३७ मत पाउँदा नेपाल जनता पार्टीका राजिनन्दप्रसाद चौधरी तीन सय १८ र रास्वपाका धिरज ठाकुर ३ सय ६ मतमा पाएका थिए।

सर्लाही-४ मा कांग्रेसले गत निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको थियो। कांग्रेसको १६ हजार २९, जनमतको १२ हजार ५ सय ९५, एमालेले ९ हजार ७ सय ९०, तत्कालीन माओवादी केन्द्रले ९ हजार ४ सय ७१, बहुजन एकता पार्टीले ५ हजार ४ सय ४४, जसपाले ५ हजार १ सय ५२, लोसपाले ३ हजा ६ सय ७३, तत्कालीन एकीकृत समाजवादीले १ हजार ६ सय ७९, रास्वपाले १ हजार १ सय ९९ र राप्रपाले ७ सय ५३ मत पाएका थिए। 

सर्लाही-४ मा ७ पालिका र ५१ वटा वडा छन्। जसमा कांग्रेसले २ पालिका र १९ वडा जितेको छ। उक्त क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४ र १५ नम्बर वडा पर्छन् भने बसबरिया गाउँपालिकाका १, २ र ३ वडा पर्छन्। धनकौलका र रामनगर गाउँपालिकाका सबै यसै क्षेत्रमा पर्छन् भने बलरा र गोडैता नगरपालिकाका पनि सर्लाही-४ मै अवस्थित छ। विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ गरी ४ वटा वडा पनि सोही क्षेत्रमा पर्छन्। 

२०७९ सालको स्थानीय निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा एमालेले जित्दा निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका उम्मेदवार थिए। बरहथवाका ७ वटा वडामध्ये ३ नम्बर वडा मात्रै कांग्रेसले जितेको थियो। बसबरिया गाउँपालिकाका अध्यक्षमा जसपा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस थियो। बसबरियाका तीन वडामध्ये कांग्रेसले २ वटा वडाध्यक्ष जितेको थियो।

धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्र थियो। धनकौलका सातमध्ये १, २, ४ र ७ गरी कांग्रेसले ४ वटा वडाध्यक्ष जितेको थियो। यस्तै रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी हुँदा कांग्रेस उपविजेता भएको थियो। उक्त पालिकाका ७ मध्ये ६ र ७ गरी २ वटा मात्रै वडा कांग्रेसले जितेको थियो।

बलरा नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बाजी मार्दा तत्कालीन लोसपाले दोस्रो स्थान लिएको थियो। नगरपालिकाका ११ मध्ये ६ वटा वडा कांग्रेसले जितेको थियो। 

गोडैता नगरपालिकाको मेयरमा लोसपा निर्वाचित हुँदा कांग्रेस दोस्रो स्थानमा सीमित रह्यो। गोडैताका १२ मध्ये ६ र ९ गरी २ वटा मात्रै कांग्रेसले जितेको थियो। यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष कांग्रेसले जित्दा जसपा उपविजेता बन्यो। उक्त पालिकाका ४ वडामध्ये कांग्रेसले २ वटा जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad