नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले माधवकुमार नेपाललाई सहसंयोजकबाट हटाउन आग्रह गरेका छन्। विशेष अदालतमा मुद्दा चलिरहेकोले नेपाललाई सहसंयोजक बनाउन नहुने खनालको तर्क छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाउँदै उनले नेकपालाई एउटा क्रान्तिकारी, दृढ र असल आचरण सहितको पार्टी बनाउने हो भने सुरुदेखि नै पार्टीमा शुद्धीकरण पनि हुनुपर्ने उल्लेख गरेका छन्। सहसंयोजक नेपालले फागुन २१ गते सम्पन्न चुनावमा शर्मनाक पराजय बेहोरेको खनालले टिप्पणी गरेका छन्।
‘तर तपाईले एकताका नाउँमा यस्तो व्यक्तिलाई सह-संयोजक बनाउनुभएको छ, जसको विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ करोडको भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ र त्यसका बारेमा मुद्दा चलिरहेको छ,’ खनालले पत्रमा भनेका छन्, ‘तपाईंलाई थाहा छ, तपाई, म र माधव नेपाल समेत रहेको संसदबाट बनेको ऐन बमोजिम उक्त भ्रष्टाचार मुद्दा दर्ता हुनुको कारणले माधवजीको सांसद पद समेत निलम्बन भएको थियो। अहिलेको निर्वाचनमा वहाँले शर्मनाक हार समेत बेहोर्नुपर्यो। जुन व्यक्तिलाई त्यस्तो मुद्दा लागे बापत सांसद भएर रहने अधिकार हुँदैन, आफ्नै दलको संसदमा दलको नेता बन्ने अधिकार हुँदैन, ती पदबाट निलम्बित हुनुपर्छ, त्यो व्यवस्था पार्टी नेता बन्नु र बनाउनमा चाँही लागू हुन्छ कि हुँदैन? लागू गर्नुपर्छ कि पर्दैन? यो नैतिक प्रश्न हो कि होइन? भोलि अदालतले दोषी ठहर गर्यो भने पार्टी नेतृत्वको हालत के हुन्छ? वहाँमाथि लागेको आरोप सिद्ध हुन्छ कि हुँदैन, वहाँबाट गल्ती भएका छन् कि छैनन्, त्यो तपाईँ, हामी, हाम्रो पार्टी, नेकपा कसैले पनि जान्ने कुरा होइन।’
उनले नेपाललाई सहसंयोजक बनाउने कुरा कुनै पनि हालतमा ठीक नभएको जिकिर गरेका छन्। ‘अदालतको फैसला आउनुभन्दा अघि नै मानौ केही पनि भएको छैन भने जस्तो गरेर नयाँ स्थापना भएको पार्टीको पनि सह-संयोजक बनाउने कुरा कुनै पनि अर्थमा नैतिकताको कुरा होइन,’ खनालले अगाडि लेखेका छन्, ‘मैले त नेकपा (एस)मा रहँदा नै त्यसमा गम्भीर मुद्दा लागेपछि नैतिक रुपले पार्टी पदबाट राजीनामा दिएर अदालतको फैसला कुर्नु उपयुक्त हुन्छ भनेर वहाँलाइ लिखित सुझाव नै दिएको थिएँ।’
भ्रष्टाचार मुद्दा व्यक्तिवादी हुने भएकाले यसमा पार्टीलाई अलग राख्नुपर्ने उनको तर्क छ। ‘यस्ता कुनै पनि मुद्दा व्यक्तिमाथि लाग्ने मुद्दा हुन्। यो मुद्दालाई हिजो पञ्चायतकाल जस्तो प्रतिशोधक मुद्दा मात्र भन्न सकिन्न। यसलाई राजनीतिक रङ्ग दिएर यो त राजनीतिक प्रतिशोध भनेर पन्छाउन पनि मिल्दैन। यस्ता मुद्दा नेकपाकै अन्य नेतामाथि आई लागे भने त्यो पार्टीका विरुद्धको राजनीतिक मुद्दा हुन्छ कि व्यक्तिमाथि लागेको खास मुद्धा मानिन्छ,’ खनालले भनेका छन्।
अदालतबाट आदेश आएपछि त्यही अनुसार गर्ने गरी अहिले नेपाललाई नेकपा सहसंयोजक बनाइराख्न नहुने उनको भनाइ छ। ‘त्यसैले त्यस्तो गम्भीर मुद्दा खेपिरहेको अवस्थामा कुनै पनि व्यक्तिलाई सहसंयोजक जस्तो पदमा राख्नु वा बस्नु उपयुक्त हुँदैन। भोलि वहाले सफाइ पाएमा बेग्लै कुरा हो। म यो कुरालाई सच्याउन तपाईँ र यो पार्टीका सबै नेताहरूलाई अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
उनले नेतृत्व नैतिकवान हुनुपर्ने जिकिर गरेका छन्। खनालले भनेका छन्, ‘सन्दर्भका रूपमा म सबै साथीहरूलाई मैले वहाँलाई लेखेको पत्र पनि पठाइदिन्छु। एउटा नैतिकवान पार्टीले मात्र आजको जटिल अवस्थामा पार्टी र क्रान्तिसामु उपस्थित चुनौतीहरूको सामना गर्न सक्छ। जुन नेतृत्वमा नैतिकताको अनुभुति हुँदैन, त्यस्तो नेतृत्वबाट नैतिकवान क्रान्तिकारी पार्टी बन्ने कुराको आशा गर्न सकिदैन।’
Shares

प्रतिक्रिया