श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद राईले सहकारी ठगीको विषय न्यायिक विषय भए पनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताए।
‘जीबी राई सहकारी ठग मात्रै भनेर हामीले भनिरहेका छैनौँ! नेपाली नागरिक हो कि होइन? देशको एउटा नागरिक हराएको छ,’ सांसद राईले भने, ‘उहाँको सहकारीसम्बन्धी विषय अदालतले हेर्ला त्यो कानूनी पाटो हो यसमा सरकार र सम्बन्धीत मन्त्रालयले काम गर्ने हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरू अहिले मौन रहेको टिप्पणी गरे। जीबी राई पक्राउ परेमा अरु पनि समस्यामा पर्ने डरले सरकारले चासो नदिएको उनको भनाइ थियो।
‘हिजोका दिनमा उहाँहरूले नै आकाशमा गए पनि पातालमा गए पनि ल्याउँछु भन्नुभएको होइन, खै?,’ सांसद राईले प्रश्न गरे।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई अहिले फरार रहेका छन्। उनीमाथि मुलुकका विभिन्न जिल्लामा सहकारी ठगीको कसुरमा मुद्दा चलिरहेका छन्।
Shares

प्रतिक्रिया