राजनीति


लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन पापडको आह्वान

लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन पापडको आह्वान

नेपालखबर
असार ३, २०८३ बुधबार १८:१०, काठमाडौँ

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन सबैलाई आह्वान गरेको छ। 

बुधबार पापडमा आवद्ध ६ वटा पेशागत संस्थाकाले सयुक्त अपिल जारी गरी नागरिक अधिकार खुम्च्याउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने सरकारी कदमको विरोध गरेको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवास चन्द्र बरालले संयुक्त अपिल जारी गरेका हुन्। 

उनीहरूले भनेका छन्, ‘पछिल्लो पटक सुकुम्वासी बस्ती जबर्जस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामै आँच आउने गरी कार्यपालिकाबाट निर्देशित न्यायापालिका सञ्चालन गर्ने चाहना, संसद्को सक्रिय र प्रभावकारी भूमिका खुम्च्याउन जवाफदेहीताबाट भाग्ने अभ्यास, नागरिक अधिकार संकुचित पार्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकमा आघात पार्ने गरी सञ्चार माध्यममाथि आर्थिक नाकाबन्दी लगाउने, संविधानप्रदत्त पेशागत तथा ट्रेड युनियनलगायतका अधिकारमुखी संघ-संस्थामाथि राज्यको नियन्त्रणमुखी व्यवहार र प्रयास, विश्वविद्यालयहरूको स्वायत्ततामा प्रहार गर्दै शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा स्थापित अभ्यास भत्काएर देखाइएको नीतिगत अस्पष्टता र उदासिनता, आमनागरिकको जीविका, रोजगारी, व्यवसाय तथा सम्मानजनक जीवनयापनमासमेत प्रतिकूल असर पार्ने कदमहरूप्रति पापड विरोध प्रकट गर्दछ।’

संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भएको पापडले स्मरण गराएको छ। तर, वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यतालाई क्रमशः संस्थागत रुपमै कमजोर बनाउदै लान खोज्नु चिन्ताको विषय भएको पापडको ठहर छ। 

‘लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासनमात्र होइन, बरु संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली हो भन्ने न्यूनतम सर्तलाई नबिर्सन पापड राज्यका अंगहरूलाई स्मरण गराउन चाहन्छ,’ पापडले भनेको छ। 

पेशागत संस्थाहरूले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन, संविधानको अक्षर र भावना दुवैको सम्मान गर्दै लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार तथा संस्थागत सन्तुलनको रक्षा गर्न आग्रह गरेका छन्। 

उनीहरूले भनेका छन्, ‘लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चारक्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट भई लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन पापड आह्वान गर्दछ।’

यसका लागि पत्रकार महासंघले असार ५ गते अपराह्न ४ बजे माइतीघर मण्डलमा ¥याली निकाल्ने भएको छ। त्यसमा सहभागीका लागि पापड आह्वान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad