शेरबहादुर देउवा पक्षका कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन्। ‘निर्वाचान शब्दको उपहास हुनेगरी सामाजिक सञ्जाल लगायत सूचना प्रविधिको दुरुपयोग बढेको छ’, शुक्रबार निर्वाचन आयोगमा आयोजित आचारसंहिता सम्बन्धी छलफलमा उनले भने, ‘निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्छ।’
नेपालमा फेसबुक, युट्युब, टिकटकसहितका सामाजिक सञ्जालहरु लोकप्रिय छन्। निर्वाचनको सन्दर्भमा यी प्लेटफर्मबाट उम्मेदवार तथा दलविरुद्ध हुनसक्ने घृणा अभिव्यक्ति तथा मित्थ्या सूचनाबारे उनले चासो राखेका हुन्।
निर्वाचन आयोग आचारसंहिता २०८२ मा सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगका सीमाहरु उल्लेख छन्। देउवा कांग्रेसले सामाजिक सञ्जालमा भइरहेको विषयलाई पहिलैदेखि चासो राख्दै आएको छ।
नेता विश्वकर्माले शुक्रबार सामाजिक सञ्जाल र राष्ट्रिय झन्डाको दुरुपयोग बढेको भन्दै निर्वाचन आयोगले रोक्नुपर्ने बताए। उनले चुनावअघि नै कुनै नेतारपार्टीलाई भोट दिन्छु भन्ने अभिव्यक्ति रोक्नुपर्ने पनि बताए।
‘पहिले पाखुराको दुरुपयोग भयो, बीचमा पैसाको भयो। अहिले सूचना प्रविधिको दुरुपयोग बढिरहेको छ। यसलाई नियन्त्रण गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया