नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको निर्वाचन आयोग र अन्य संस्थाहरूप्रति आफ्नो विश्वास रहेको बताएका छन्।
बुधबार नेपाली कांग्रेसले उनीसहितका नेतालाई कारबाही गरेपछि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो विश्वास हुनुमा संवैधानिक कारण रहेको उल्लेख गरे।
‘मलाई नेपालको निर्वाचन आयोगप्रति पनि विश्वास छ, मलाई नेपालको ऐन, नियम, कानुनप्रति विश्वास छ,’ थापाले भने, ‘नेपालको संविधानप्रति विश्वास छ। नेपालको सबै संस्थाहरुप्रति विश्वास छ।’
उनले बहुमत प्रतिनिधि भेला भएर गरेको निर्णयलाई आयोगले स्वीकार गर्ने पनि विश्वास गरे। ‘नेपाली कांग्रेसका बहुुमत महाधिवेशन प्रतिनिधि जम्मा भएर विधिसम्मत ढंगले गरिएको विशेष महाधिवेशनबाट आएको परिणामलाई निर्वाचन आयोगले त्यसलाई त्यही ढंगले, सही ढंगमा स्वीकार्छ भन्ने कुरामा विश्वास छ,’ थापाले भने, ‘किनभने यसका बैधानिक कारण छन्, संवैधानिक कारण छन्।’
उनले सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठक संवैधानिक नरहेको समेत जिकिर गरे। आफूहरुले अस्ति नै केन्द्रीय कार्यसमिति भंग गरेकाले त्यो बैठक नै बस्न नसक्ने थापाको तर्क छ।
Shares

प्रतिक्रिया