त्यहाँ बुधबारसम्म एक लाख १५ हजारभन्दा बढी संक्रमित बनिसक्दा झन्डै ८ हजारको मृत्यु भएको छ। यद्यपी त्यहाँका राष्ट्रपति जायर बोल्सोनारोलाई देशको विकराल अवस्थाले कुनै असर पारेको छैन।
देशमा कोरोनाले ग्रस्त परिस्थितीको बारेमा हालै राष्ट्रपति बोल्सोनारोले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन्।
उनले लगातार कोरोना भाइरसलाई खतरा नभएको भन्दै यो सानोतिनो बिरामी मात्र भएको दोहोर्याउँदै आएका छन्।
हालै दिएको अभिव्यक्तिले भने बोल्सोनारोको समर्थक नै उनीसँग रुष्ट बनेका छन्। गतहप्ता जब ब्राजिलमा ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
त्यसबेला पत्रकारले उनलाई कोरोनाले ब्राजिलमा संकट निम्त्याएको भन्दै प्रश्न गरेका थिए। उत्तरमा उनले भनेका थिए,‘के भयो त? मैले तपाइँले भनेको बुझिन, मबाट के उत्तर चाहनुहुन्छ तपाइँ, म कुनै चमत्कार गर्न सक्दिन।’
उनले त्यसबेला कोरोनाविरुद्ध सरकारको नीति के हो भनेर पनि प्रस्ट पारेनन्।
बोल्सोनारोले चिकित्सकहरुको सुझावलाई पनि मानेका छैनन्। उनले व्यक्ति–व्यक्तिबीचको दुरीको पालना गरेका छैनन् भने उनी आफ्ना समर्थकसँग बिना पन्जा हात मिलाउँछन्।
गत अप्रिल १९ मा त उनी सेनाको मुख्यालय अगाडि प्रदर्शनकारीसँग लकडाउन हटाउनुपर्छ भन्दै प्रदर्शनमै उत्रिएका थिए।
ब्राजिलका विभिन्न क्षेत्र र राज्यमा लकडाउन गरिएको छ। एजेन्सी

प्रतिक्रिया