संयुक्त राष्ट्र संघ (युएन) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन्।
भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा. जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिएका छन्। सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराएका थिए।
उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराएका रक्षा मन्त्रालयका उपसचिव मनोज कुमार आचार्यले बताए। भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टिनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिएका उपसचिव आचार्यले बताए।
भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिएका छन्। नेपालमा अब लक डाउनको अवस्था के हुने? लक डाउन कम गर्दै जाँदा त्यसले पर्ने प्रभाव के हुन्छ? भन्ने विषयमा पनि उनीहरुले विज्ञासा राखेका थिए। राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टिनमा रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्ने र सकेसम्म होम क्वारेन्टिनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन्।

प्रतिक्रिया