राजनीति


कुलमानलाई तनुजाको प्रश्न: नामको अगाडि ‘माननीय’ राख्नासाथ नैतिकता भाग्छ हो?

कुलमानलाई तनुजाको प्रश्न: नामको अगाडि ‘माननीय’ राख्नासाथ नैतिकता भाग्छ हो?

नेपालखबर
पुस २३, २०८२ बुधबार ८:३०, काठमाडौँ

जेनजी आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले ऊर्जामन्त्री कुलमान घिसिङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी छन्। 

पाण्डेले बुधबार सामाजिक सञ्जालमार्फत् कुलमानको नैतिकतामा प्रश्न उठाएकी हुन्

‘रास्वपा उपसभापतिमा सहमति दिनु भएका कुलमान सरले ‘म कुनै पार्टीको सदस्य होइन’ भन्नु भएछ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन् ‘सुन्दा त मलाई नै लाज लाग्यो, नामको अगाडि ‘माननीय’ राख्नासाथ नैतिकता भाग्छ कि क्या हो?’

मन्त्री घिसिङले मंगलबार ललितपुरमा आयोजित एक कार्यममा आफू कुनै पनि पार्टीको सदस्य नभएको अभिव्यक्ति दिएका थिए। 

घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन भएको थियो। पुस २४ गते उज्यालो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। 

एकता गर्ने सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए। 

त्यसलाई लिएर राजनीतिक दल र नागरिक समाजबाट घिसिङले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। यस विषयमा सोधिएको प्रश्नमा घिसिङले मंगलबार भनेका थिए, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

मन्त्री घिसिङलाई प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको नेता भइसकेको कारण पदबाट राजीनामा दिन दबाब दिएकी छन्। तर, कुलमानले भने आफू अहिलेसम्म कुनै पनि दलको सदस्य नभएको दाबी गर्दै मन्त्री पदबाट राजीनामा दिन आनाकानी गरिरहेका छन्। 

कुलमानले आफू अहिलेसम्म कुनै पनि दलको सदस्य नभएको दाबी गरेपछि जेनजी आन्दोलनकी अगुवा पाण्डेले उनको आलोचना गरेकी हुन्। 

‘माननीयज्यूले बिर्सनु भएजस्तो छ, जब देशको परिस्थितिअनुसार विशेष ‘गैरदलीय सरकार’ गठन हुन्छ, त्यहाँ सहभागीहरूको मुख्य दायित्व केवल आफ्नो म्यान्डेट पूरा गर्नु हो। मौका पाउँदा चौकावाला राजनीति गर्नु होइन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो सरकार कुनै दलको बहुमत वा राजनीतिक समीकरणको आधारमा बनेको होइन। यो जेनजी आन्दोलनको जगमा जन्मिएको अन्तरिम व्यवस्था हो, जसको एकमात्र लक्ष्य निष्पक्ष निर्वाचन सम्पन्न गराउनु र आन्दोलनका मागहरू सम्बोधन गर्नु हो। यस्तो अवस्थामा, सरकारकै मन्त्रीहरूले पार्टीगत गतिविधिमा सक्रिय हुनु नैतिक र राजनीतिक दुवै दृष्टिले गलत हो।’

कुलमानले आफ्नो राजनीतिक संलग्नता लुकाउने प्रयास अझ लज्जास्पद भएको तर्क पनि पाण्डेले गरेकी छन्। 

‘नेपालमा ठग नेताहरूको कमी छैन, बिन्ती छ कृपया तपाईं (कुलमान) अर्को पात्र नबन्नुहोस्। यस्तै झुट, दोहोरो चरित्र र अवसरवादी राजनीतिले जनतामा निराशा मात्र थप्छन्। तपाईंले आज बोलेको झुट भोलि प्रश्न बन्छ, पर्सि आरोप बन्छ, र अन्तत तपाईंको राजनीतिक पहिचान बन्छ। विश्वास गुमेपछि शक्ति अर्थहीन हुन्छ,’ पाण्डेले भनेकी छन्, ‘त्यसैले, आस्था घरमा राखेर आउनुहोस् वा पद छोडेर मैदानमा जानुहोस् तर, गैरदलीय सरकारको कुर्सीमा बसेर पार्टीगत राजनीति गर्ने सुविधा हालको परिस्थितिमा छैन। जनता अज्ञानी छैनन्।जनताको नाममा बनेको सरकारको कुर्सीमा बसेर जनतालाई झुट बोल्ने छुट कसैलाई पनि छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad