उर्जा मन्त्री कुलमान घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको बताएका छन्।
मंगलबार ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले आफू कुनै पार्टीको सदस्य नभएको प्रष्ट्याएका छन्।
घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन भएको थियो। पुस २४ गते उज्यालो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो।
एकता गर्ने सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए।
त्यसलाई लिएर राजनीतिक दल र नागरिक समाजबाट घिसिङले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। यस विषयमा सोधिएको प्रश्नमा घिसिङले भने, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले भने।
कार्यक्रममा बोल्दै उर्जामन्त्री घिसिङले आफू नेतृत्वमा आएपछि गरेका कामकारबाहीका विषयमा चर्चा गरेका थिए। उनले विकास निर्माण र समृद्धिका लागि राजनीतिक स्थायित्व चाहिने जिकिर गरे। ‘विकास निर्माणका लागि राजनीतिक स्थायित्व चाहिन्छ, राजनीतिक नेतृत्व चाहिन्छ,’ घिसिङले भने।
बजेट खर्च गर्नसक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए। विकास बजेटसँगै निर्माण कम्पनीको क्षमता बढाउनुपर्ने उनको भनाइ थियो। ‘हाम्रा कन्ट्रयाक्टरको पनि क्षमता बढाउनुपर्छ,’ उनले भने।
नेपालले अहिलेसम्म लगानी सम्मेलन गर्दै आएको भए पनि अब कन्ट्रयाक्टर सम्मेलन गर्नुपर्ने उनको भनाइ थियो। ‘अहिलेसम्म लगानी सम्मेलन गर्दै आयौँ। लगानी आएर मात्रै नहुँदो रहेछ, त्यसलाई खर्च गर्न सक्ने कन्ट्रयाक्टर पनि चाहिन्छ। अब कन्ट्रयाक्टर सम्मेलन गर्नुपर्छ,’ घिसिङले भने।
Shares

प्रतिक्रिया