राजनीति


भेनेजुएलाको तेल कब्जा गर्न अमेरिकाले आक्रमण गर्‍यो: पूर्वप्रधानमन्त्री खनाल

भेनेजुएलाको तेल कब्जा गर्न अमेरिकाले आक्रमण गर्‍यो: पूर्वप्रधानमन्त्री खनाल

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८२ आइतबार ११:५२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि हिंस्रक र क्रुर सैन्य आक्रमण गरेको भन्दै विरोध गरेका छन्।

खनालले आइतबार बिहान विज्ञप्ति जारी गर्दै भेनेजुएला माथि भएको अमेरिकी हिंस्रक आक्रमणको निन्दा र विरोध गर्न पनि आह्वान गरेका छन्। 

‘हिजो अमेरिकाको ट्रम्प प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु एयरक्राफ्टबाट नागो र क्रूर हमला गरेको छ। त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकहरूको हत्या गरेको छ, सैनिक संरचनाहरूलाई ध्वस्त पारेको छ,’ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्‍याइएको छ। यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो। म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारबाहीको कडा शब्दमा निन्दा र भत्सना गर्दछु।’

उनले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाउँदै आएको दाबी गरेका छन्। ‘किनभने भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो। अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन्। तर मदुरोको सरकार त्यो कार्यका निम्ति सबैभन्दा ठूलो अवरोधक बनेको थियो,’ खनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘त्यहीँ “अवरोध”लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ” को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रूपले निर्वाचित राष्ट्रपतिमाथि पाशविक पाराले आक्रमण र अपहरण गरेको छ। यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, यो अमेरिकी राज्य आतंकवाद पनि हो,’ पूर्वप्रधानमन्त्री खनालले भनेका छन्, ‘यो क्रूर र निर्लज्ज आक्रमण विरुद्ध सम्पूर्ण भेनेजुयाली जनता साम्राज्यवादी आक्रमणका विरुद्ध उभिएका छन्। विश्वका तमाम न्यायप्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन्। संयुक्त राष्ट्र संघ र सिलोजस्तो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन्। उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भत्सना गरिरहेका छन्। स्वयं अमेरिकामा न्यायप्रेमी अमेरिकी जनता यो हिंस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन्।’

उनले नेपाली कम्युनिष्ट पार्टी र सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको तर्फबाट अमेरिकी आक्रमणको घोर निन्दा र भत्सना गर्दै भेनेजुएलाका जनताको विरोध र प्रतिरोधप्रति एक्यवद्धता जनाएका छन्। 

खनालले अमेरिकाको घोर अन्यायपूर्ण आक्रमणको विरोधमा उत्रिन पनि आग्रह गरेका छन्।

भेनेजुएलाका जननिर्वाचित र वैधानिक राष्ट्रपति तथा प्रथम महिलाको सकुशल रिहाइको साथै संयुक्त राष्ट्र संघ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंसक आक्रमणकाविरुद्ध कडा कानुनी कारवाही गर्न, अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, जङ्गली शासनको अन्त्य गर्न, साना र कमजोर मुलुकहरूको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न पनि आह्वान गरेका छन्। 

‘विश्वबाट नै साम्राज्यवादी आक्रमणका सम्भावनाहरूलाई अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्न नेपाली जनता र विश्वभरिका जनता र राष्ट्रहरू समक्ष जोडदार आग्रह गर्दछु,’ खनालले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad